पाल्पा, पाल्पाको सदरमुकाम तानसेन आफैमा सांस्कृतिक सहर हो । यो सहर काठमाडौं उपत्यका पछिको दोश्रो सांस्कृतिक सहरका रुपमा परिचित छ । वर्षको पहिलो दिनदेखि वर्षको अन्तिम दिनसम्म यहाँ जात्रा, चाडपर्वहरु भई रहन्छन् । त्यसैले पनि तानसेनलाई सांस्कृतिक शहर भनिएको हो ।
देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउरालीले यहाँका जात्रा र चाडपर्वलाई समेटेर एक कृति निकालेका छन् । उनीद्वारा लिखित ‘तानसेनमा मनाइने जात्रा तथा चाडपर्वहरू’ नामक कृतिको शनिबार तानसेनमा एक कार्याक्रमका बिच परिचर्चा गरिएको छ । तानसेन भजन संरक्षण समिति , पाल्पा साहित्य समाज र सम्पदा प्रतिष्ठान पाल्पाको आयोजनामा कृतिको परिचर्चा गरिएको हो । जिल्लाका साहित्यकार, सामाजिक व्यक्तित्व, राजनीतिककर्मीहरुले कृतिमा उल्लेख गरिएका तानसेनका जात्रा र पर्वहरुको बारेमा चर्चापरिर्चा गरेका थिए । कार्यक्रममा पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले तानसेनको सांकृतिक पहिचानलाई पुस्तकले थप प्रष्ट पारेको बताए । उनले ऐतिहासिक तानसेनका जात्रा र पर्वलाई विश्वव्यापीकरण गर्नमा पुस्तकले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । संरक्षक सिहंले भने,‘तानसेनका पर्वहरुको प्रचार–प्रसार हुन सकेको छैन्, जसले गर्दा यहाँका ऐतिहासिक जात्रा र पर्वहरु विश्वव्यापी हुुन सकेका छैनन्, पुुस्तकले केही हदसम्म भए पनि व्यापीकरणमा टेवा पुुग्ने छ ।’ समीक्षक अर्चना शाक्यले तानसेन आफैमा सांस्कृति रुपमा सम्पन्न रहेको बताईन् । उनले तानसेनको त्यही संस्कृतिलाई पुस्तकमार्फत उजागर गरिएको बताईन् । उनले पुस्तक संग्रहणीय र उदाहरणीय रहेको धारणा व्यक्त गरिन् । कृतिका लेखक मदन देउरालीले यहाँका सबै जात्रा र पर्वहरुलाई पुस्तकमा उतार्ने प्रयास गरेको बताए । उनले संस्कृतिले ओतप्रोत तानसेनको प्रचार प्रसारमा टेवा पुुगोस् भन्ने उद्देश्यले पुस्तक लेखेको बताए । पुस्तकमा उनले पाल्पामा मनाइने चार दर्जनभन्दा बढी जात्रा तथा पर्वको जानकारी संकलन गरेका छन् ।
मंगल प्रसाद बज्राचार्यको अध्यक्षता, साहित्यकार चित्रवलीराम सुवालको स्वागत, रामजीप्रसाद शर्माको धन्यवाद र पाल्पा साहित्य समाजका अध्यक्ष पुुष्कर अथक रेग्मीको सञ्चालनमा कार्यक्रम एको थियो । कार्यक्रममा प्रकाश गोंगल, निर्मल श्रेष्ठ , सुवर्ण मुनि शाक्य, महेश देउराली , रोहित ज्ञवाली लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
सांस्कृतिक संरक्षणमा जोड
तानसेन बजार नेवारी समुदायको बाहुल्य भएको सहर हो । यहाँ घरैपिच्छे मन्दिर तथा देवालय छन् । वर्षको सुरुआतमा मनाइने बटुक भैरव जात्रादेखि लिएर अन्तिममा मनाइने चैतेदसंै जात्रा गरी यहाँ वर्षभरी नै जात्रा चलिरहन्छ । संस्कृतिले ओतप्रोत तानसेन अहिले शून्यप्रायः छ । पहिले वर्षभरि नै स्वतस्फूर्त रूपमा बजारमा शात्रीय संगीत घन्कन्थ्यो । अग्रज कलाकारले भजन मण्डली बनाएर भजन, राग गाउँदै मृदंग र मुजुराको तालमा बजार परिक्रमा गर्थे । अहिले मौलिक परम्परा धेरै लोप भइसकेका छन् ।
पछिल्लो समयमा तानसेनका चाडपर्व र जात्राहरु हराउदै जान थालेकाले यसको संरक्षणमा सबै पक्षले ध्यान दिनुुपर्ने आवाज समेत उठ्न थालेको छ । जात्रा पर्व मनाउन खर्चिलो हुने भएकाले यीनिहरु विस्तारै हराउँदै जान थालेको तानसेनवासीहरुको गुनासो छ । उनीहरुले मठमन्दिर जीर्ण हुँदै गएको ,संरक्षणको अभावमा कतिपय इतिहास बोकेका सम्पदाहरु समेत लोप भइसके भन्दै चिन्ता व्यक्त गरेका छन् । केही गुठी र स्थानीय टोल समूह मिलेर सामान्य रूपमा परम्परा धान्ने काम गरे पनि जात्रा पर्व र मठमन्दिरको उचित संरक्षण हुन नसकेको स्थानीयहरुको भनाई छ । उनीहरुले इतिहास बोकेका परम्परा र संस्कृतिको सम्वद्र्धनमा स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिनुुपर्ने बताउँदै आएका छन् ।