मदन देउराली
नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजाति र बहुसांस्कृतिक विविधताले युक्त राष्ट्र हो, त्यसैले यहाँका विभिन्न चाडपर्व तथा संस्कृतिको महिमा विश्वमा नै अतुलनीय रहेको छ । हाम्रा यस्तै पर्वहरूमध्ये महत्वपूर्ण पर्व माघे संक्रान्ति पनि हो । यस वर्षको माघे संक्रान्ति धुमधामले मनाइएको छ । सूर्यले मकर राशिमा प्रवेश गर्ने दिन भएकाले हामी यस पर्वलाई मक्कर संक्रान्ति पनि भन्छौं । यस पर्वले हाम्रो जनजीवनमा धार्मिक, ऐतिहासिक र आध्यात्मिक महत्वसमेत बोकेको छ । माघे संक्रान्तिले खास गरी दान र पुण्यको महत्व र महिमालाई स्पष्ट पारेको देखिन्छ । यस दिन पवित्र नदीहरूमा स्नान गरी सत्पात्रमा दिइएको दान कुनै पनि मानवका लागि अत्यन्तै फलदायी हुने कुरा पद्मपुराणमा उल्लेख गरिएको छ ।
पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडीमा माघे संक्रान्तिको अवसरमा तीन दिन मेला हेर्ने र स्नान गर्नेहरुको भिड लागेको थियो । यो समयमा रात छोटो हुँदै र दिन लम्बिँदै जान्छ । घामको किरण पर्न थालेपछि कक्रिएर बसेका वनस्पतिहरू पनि बिस्तारै खुल्दै जान्छन् । दिन घमाइलो हुन्छ । त्यही कारण यस पर्वलाई उत्साहको पर्वका रूपमा मनाइने गरिन्छ । नेपालका सबै हिन्दू समुदायले यस पर्वलाई मनाउने गरेका छन् । तर, मनाउने पद्धति फरक छ । जस्तो, थारूले माघी भनेर मनाउँछन् । मगरले नयाँ वर्षका रूपमा लिन्छन् । किराँतले यले संवत् भनेर मनाउँछन् । तर, सबैले स्नान गरेर चोखो हुने, भगवानको उपासना गर्ने, घ्यु, चाकु, कन्दमूल, कालो मासको खिचडीलगायत तागत दिने खानेकुरा खाने र चेलिबेटी तथा अग्रजहरूलाई दानदक्षिणा गर्ने गर्छन् । सक्ने अवस्था भए स्नानका लागि तीर्थस्थल जानु, नभए घरमै स्नान गर्नु राम्रो मानिन्छ । भूगोल र जातअनुसार मनाउने पद्धति भने केही फरक छ । जस्तो, पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल कालिगण्डकीस्थित रिडीमा संक्रान्तिदेखि लगातार तीन दिनसम्म स्नान गरिन्छ । देवघाट र बराह क्षेत्रमा एक दिन स्नान गरिन्छ । लमजुङका गुरुङ युवायुवती यस दिन आफ्ना अग्रजहरूको संरक्षकत्वमा पोखराको सेतीस्थित रामघाटमा तीर्थ स्नानका लागि जान्छन् ।
नेपालको समस्त भू–भाग, हिमाल, पहाड, तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, नेवार, मगर, गुरुग, राई, लिम्बु आदि जनजातिहरुले माघे संक्रन्तिलाई आ–आफनो परम्परा अनुसार मनाउने गरेको पाइन्छ । सांस्कृतिक परम्परा अनुसार जति पनि चाडपर्वहरु छन् ति सबै चाडपर्वहरु केवल मोज मज्जा र रमिताको भोजमा मात्र सीमित छैनन् । हरेक चाडपर्वहरुमा आ–आफ्नो प्रकारको मौलिकता छन् । यसकारण माघे संक्रान्तिको रमाइलो चाडमा पनि आफ्नै ढंगको मौलिकता छ । माघे संक्रान्तिको उपयोगिता स्वास्थ्यको दृष्टिकोणले अपनाउनुपर्ने आहार विहारका नियमहरुमा आधारित छन् । नेपालमा धूमधामसाथ मनाइने यो साझा पर्व धार्मिक, सांस्कृतिक र परम्परागत हिसाबले निकै महत्वपूर्ण छ । पुसको अन्त्य र माघ महिनाको प्रारम्भमा यो पर्व मनाइन्छ । कुनै पनि चाडपर्वसँग धार्मिक साइनो मात्र छैन् यसका वैज्ञानिक कारण पनि रहेका छन् । समय अनुकुल मानिसलाई कसरी बाँच्ने, कसरी रमाउने, कसरी प्रकृतिसँग एकाकार हुने भनेर यी चाडपर्वहरुले सिकाइरहेका हुन्छन् । जति पनि चाडपर्व हामीले मनाउँछौं सबैको आ–आफनो विशेषता रहेका छन् । त्यसैले कुनै पनि चाडपर्व बुझेर मनाउनु राम्रो मानिन्छ । ज्योतिष शास्त्र अनुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशीबाट मकर राशीमा संक्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर संक्रान्ति रहन गएको हो भनिन्छ । सूर्यको उदय विन्दु दक्षिणबाट उत्तरतर्फ तिर सर्ने भएकाले यस दिनबाट उत्तरायण शुरु हुन्छ भन्ने मान्यता छ । सामान्यतया सूर्यले सबै राशीलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशी (साउने सक्रान्ति) र मकर राशी (माघे संक्रन्ति) प्रवेसलाई धार्मिक दृष्टिले विशेष महत्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य दक्षिण गोलाद्र्धबाट उत्तरी गोलाद्र्ध तर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । चन्द्रको आधारमा महिनालाई दुई भागमा विभाजन गरिन्छ शुक्ल पक्ष र कृष्ण पक्ष । यसै गरी सूर्यको आधारमा वर्षको दुई भाग हुन्छ उत्तरायण र दक्षिणायन । उत्तरायणमा धर्तिको उत्तरी गोलाद्र्ध सूर्यको सन्मुखमा पर्दछ । ६ महिना सूर्य उत्तरायण हुन्छ र ६ महिना दक्षिणायन हुन्छ ।
वास्तवमा चन्द्रमाको बाटोलाई २७ भागमा बाँडिएको छ भने सूर्यको बाटो १२ राशीमा बाँडिएको छ । यी १२ राशी अर्थात् संक्रान्ति मध्ये मुख्य ४ राशी मेष, तुला कर्कट र मकर संक्रान्तिलाई विशेष महत्वका साथ राखिएको छ । दक्षिणायनलाई देवताको रात्री भनिन्छ जबकी उत्तरायणलाई देवताको दिनको संकेत मानिन्छ । उत्तरायणको अवधिमा तुलनात्मक रुपमा दिन लामो सूर्यको प्रकाश तेज हुन्छ र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । प्रकाश अधिक हुने भएकाले कार्यशक्तिमा पनि बृद्धि हुन्छ भनिन्छ । त्यसैले पनि यस दिनको छुट्टै खगोलिय महत्व छ । यस दिन जपतप ध्यान गर्नु निकै महत्व मानिन्छ । यस दिन दान गर्ने प्रचलन पनि छ । यतिबेला दान गर्नु सय गुणा दान गरेको बराबर हुन्छ तथा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ । त्यसैले यसदिन घाट नदी जस्ता पवित्र स्थलहरुमा स्नान गर्ने भनिन्छ । यस दिन हिन्दू धर्मावलम्वीहरु पवित्र नदीहरुमा गएर स्नान गर्दछन् । माघीको दिन नुहाएमा पापमोचन हुने जनविश्वास छ । त्यसैले सुनसरीको चतरा, देवघाट, वराह क्षेत्र, पनौति, काली गण्डकीको किनार, दोलालघाट, कन्काई काठमाडौंको शंखमूलको बाग्मती किनार आदि नदी तथा घाटहरुमा स्नान दान श्राद्ध गर्ने गरिन्छ । यो परम्परागत चलन हो । माघे संक्रान्तिको दिन यी पवित्र स्थलहरुमा भव्य मकर मेला लाग्ने गर्दछ । भविष्य पुराण, विष्णुवचन तथा धर्म सिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लडडु, सागपात, तरुल, वस्त्र, आदि सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफुहरुले खायमा शरिर पोषिलो हुनुका साथै निरोगी हुने उल्लेख गरिएको छ ।
ऋतु ऋतुमा परिवर्तन हुने हावापानीको दृष्टिकोणले हरेक मौसममा एकैनाशको आहार विहार हँुदैन । समय समयमा हुने हावापानीको परिवर्तन अनुसार आहारविहार पनि त्यस्तै हुनु आवश्यक हुन्छ । हेमन्त ऋतु र शिशिर ऋतुमा सबैको अग्नी प्रबल रहेको हुन्छ त्यसैले विशेष पौष्टिक तत्वहरु पेटभरी खानु आवश्यक हुन्छ । खासगरी जाडो महिनामा पर्ने भएकाले यो पर्वमा कन्दमूल खाने गरिन्छ । त्यसै गरी माघे संक्रान्तिमा तरुल, शख्खरखण्ड, पिंडालु, तीलको लडडु तथा चाकुको पर्वको रुपमा पनि लिने गरिन्छ । हुन पनि प्रकृतिले पनि यस्तै कुरा उत्पादन गरिदिएको छ जतिबेला हामीलाई यो आवश्यक हुन्छ । शिशिर ऋतुमा पर्ने यो जाडो मौसममा वातावरणको तापक्रम एकदम कम हुन्छ र शरीरमा मेटाबोलिजम धेरै हुन्छ अर्थात् खानेकुरा धेरै पच्ने र खाना रुच्ने हुन्छ । यसबेला हामीलाई छिटो छिटो भोक लाग्छ । यस्तो बेला शरीरमा रोगव्याधिको संभावना पनि हुन सक्छ । त्यसैले रोकथामको लागि प्रतिरोधात्मक शक्ति घीउ, चाकु र तिलको लडडु, तरुल, सख्खरखण्ड तथा खिचडी खानाले शरिरमा गर्मीको मात्रा बढेर तागत दिने तथा रोग संग लडने शक्ति प्रदान गर्दछ तथा शरीरका लागि लाभदायक पोषक पदार्थ पनि पाइन्छ र मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छाला सम्बन्धी र अन्य रोगहरु पनि नाश हुने विश्वास गरिन्छ । माघे संक्रान्तिमा तरुलको माग धेरै हुने हुँदा पहाडी क्षेत्रका किसानहरुले आफ्नो बारीमा लगाएको तरुल खनेर बजारसम्म लाने गर्दछन् । यस अवसरमा तरुल सजिलै विक्री हुने गरेको उनीहरु बताउँछन् । सनातन संस्कारमा तिलको विशेष महत्व छ, चाहे होम पूजा गर्नलाई होस् या दान आदि गर्न होस् या कुनै पितृ कर्म अनि शुभकार्यमा तिल अपरिहार्य छ ।
संक्रान्तिका दिन तिलको पकवानका लागि प्रसिद्ध छ । तिललाइ भुटेर अनि सख्खरमा मुछेर बनाइएका लड्डुहरु विशेष परिकार हो । आयुर्वेदिक अनुसार तिलले खोकी कम गर्दछ । तिल ढिलो पच्ने भएकाले शरीरलाई लामो समयसम्म शक्ति दिन्छ । यसले शरीरको कमजोरीपन हटाउँछ । तिल र तिलको तेल दुबै हाम्रो शरीरको लागि फाइदाजनक हुन्छ । थरुहट समुदायले माघे संक्रान्तिलाई माघी भनेर नयाँ वर्षको रुपमा विशेष तरिकाले मनाउने गर्दछन् । पौष महिनाको अन्तिमदिनदेखि नै भोज खाएर धमार गीत गाउँदै रातभरि जाग्राम बस्ने थरुहटहरुको चलन छ । यो पर्वका अवसरमा उक्त गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । माघीको रौनकमा उक्त समुदायमा खानपिन संगसंगै आफ्नो भेषभूषामा नाचगान र संस्कृति झल्कने खालका प्रस्तुति गर्ने गर्दछन् । मिथिलावासी यस पर्वलाई तिला संक्रान्तिको रुपमा मनाउँछन् । यसदिन कता कता मगर जातिहरु तारो हान्ने खेल खेल्दै मनाउँछन् भने नेवार समुदाय घीउ चाकु सल्हु तिलको लड्डु दान दिने गर्दछन् । किँरात समुदाय माघे संक्रान्तिलाई किरात येले सम्वतको रुपमा पनि मनाउने गर्दछन् । भनिन्छ यस दिनले वसन्त ऋतुको शुभ सन्देश बोकेर आउँछ ।
पौराणिक कथा अनुसार महाभारतका भीष्म पितामहले इच्छा अनुसार मृत्युको वरदान पाएका थिए । रणभूमिमा अर्जुनको धनुष बाणले मरणसन्न बनाई दिएका भीष्मले य िदिन मृत्युको इच्छा बताएका थिए । यहि दिन भगिरथले गंगालाई पृथ्वी अवतरण गराई सागरमा मिलाएका थिए भन्ने पुराणहरुमा उल्लेख गरिएको छ । त्यसै गरी माघे संक्रान्तिमा नेपालको नुवाकोट, धादि· जस्ता जिल्लाहरुमा गोरु जुधाउने पर्वका रुपमा पनि मान्ने गरिएको छ । विशेष गरी सयौं हल गोरु जुधाएर सांस्कृतिक पक्षलाई अझ मजबुत गर्ने गरिन्छ । यसै गरी संक्रन्तिलाई राम्रो कामको शुरुवात गर्ने दिनको रुपमा पनि मानिन्छ । माघे संक्रान्तिलाई धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । यसै दिन भक्तपुरमा रहेको तिलमाधव नारायणको उत्पत्ति भएको दिन मानिन्छ । माघे ंसक्रान्तिको अवसरमा तिल माधवनारायण मन्दिरमा पनि यसपटक ठूलो मेला लागेको थियो । घिउ चाकु तिलको लड्डु, हरियो सागपात, मास, तरुल लगाएत खायर मनाइने यस पर्वका दिन तिल माधव नारायण र वाकुपति नारायण मन्दिर, चाँगुनारायण, आशापुरी महादेव र डोलेश्वर महादेव मन्दिरहरुमा दर्शनाथीहरुको भिड लाग्दछ । माघे सक्रान्ति पर्वलाई सबैले हर्षोउल्लासका साथ मनाई संंस्कृतिको संरक्षण गर्नु आजको आवश्यकता हो ।
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)