Shittalpati
माथागढी गाउँपालिकामा कोरोना संक्रमण रोक्न यस्ता छन् प्रयास

रामचन्द्र रायमाझी
पाल्पा । विश्वभर फैलिरहेको कोभिड –१९ को सम्भावित संक्रमण रोक्न जिल्लाको माथागढी गाउँपालिकाले विभिन्न प्रयासहरु गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गाउँपालिकाका जनप्रतिनिधि सक्रियताका साथ लागेका छन् । यहाँका सबै वडाहरुमा जिल्लामा जारी निषेधाज्ञालाई पूर्ण रुपमा कार्यान्वयन गर्दै विपद्मा परेका नागरिकहरुको उद्धारका लागि जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मीहरु सक्रियताका साथ लागेको देखिन्छ । गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुमा गाउँपालिकाले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न कीटनाशक औषधि छर्कर्ने काम समेत गरेको छ ।

विपन्नलाई राहत वितरण

गाउँपालिकाले लकडाउनका कारण दैनिक जीविकोपार्जन गर्न अप्ठेयारामा परेकाहरुका लागि राहत वितरण गरेका छ । दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने विपन्न श्रमिकको साँझ बिहानको छाक नअड्कियोस् भनी राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनका अनुसार विपत् व्यवस्थापन कोषमा रहेको बजेटबाट गाउँपालिका भित्र रहेका सात सय विपन्न घरपरिवालाई राहत स्वरुप खाद्यन्न वितरण गरिएको हो । गाउँपालिकाले विपन्न परिवारका लागि प्रति परिवार २५ केजी चामल, २ लिटर तेल,२ केजी नुन,२ के जी दाल दिएको छ । त्यति मात्र होइन गाउँपालिकाले कोरोना संक्रमणको लक्षण देखिएका र संक्रमण भएका व्यक्तिहरुलाई अस्पतालसम्म पु¥याउन र उपचारका लागि निःशुल्क गरेको छ । केही दिन अघिदेखि संक्रमणको लक्षण देखि ज्वरो आएर लुम्बिनी मेडिकल कलेजमा उपचार गराइरहेका झडेवाका २ जनाको गाउँपालिकाले निःशुल्क उपचार गराइरहेको छ । उनीहरुको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।

सबै स्वास्थ्य संस्थामा पिपिइ

गाउँपालिकाले कोरोना भाइरस संक्रमणको उपचारलाई लक्षित गरी उपचारमा प्रयोग गरिने विशेष प्रकारको सुरक्षित पोसाक (पिपिइ) वितरण गरेको छ । स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको उपचारमा सुरक्षित भई उपचार सेवा गर्न सहयोग पु¥याउने उद्देश्यका साथ गाउँपालिकाका ८ वटै वडाका स्वास्थ्य संस्थाहरुमा पिपिइ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । उनका अनुसार गाउँपालिकाले आफ्नै आन्तरिक स्रोत मार्फत वडाका सबै स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य केन्द्र, आयुर्वेदिक औषधालय,एम्बुलेन्स चालक लगायतलाई १५ वटा पिपिइ उपलब्ध गराएको हो । कोरोना संक्रमणको उपचारका लागि गाउँपालिकामा उपलब्ध साधनस्रोतलाई अधिकतम परिचालन गर्दै जाने अध्यक्ष थापाले बताए ।

गाउँपालिकामा हालै भारत लगायत तेस्रो मुलकबाटबाट आएका ८४ जनालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा होम क्वारेन्टाइनमा राखिएको छ । गाउँपालिकाले आवश्यकताका आधारमा विदेशबाट आएका नागरिकहरुका लागि ४१ वेडको क्वारेन्टाइन निर्माण गरी तयारी अवस्थामा राखेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update