यस वर्षको स्वस्थानी व्रतकथा आजदेखि शुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म हिन्दु धर्मावलम्बीहरूले चोखो बसी घरमा स्वस्थानीको पूजा–आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ । व्रतालु महिलाहरूले पौष शुल्क पूर्णिमाको दिन बिहानै हातखुट्टाको नङ काटी, स्नान गरी, चोखो लुगा लगाएर मध्याह्नमा महादेवको पूजा गरी व्रतको शुरुवात गर्दछन् । माघ शुक्ल पूर्णिमासम्म व्रत अवधिभर व्रतालुहरूले एकछाक चोखो खाई १०८ पान, त्यत्तिनै संख्यामा कुड्का सुपारी लगायतका सामग्रीले स्वस्थानीको पूजा गर्ने प्रचलन छ । व्रत समाप्तिको दिन ती रोटी, पान सुपारी आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा नभए मित छोरालाई, मित छोरा पनि नभए मेरो फलानो इच्छा, आकांक्षा पूरा होस् भनेर नदीमा विसर्जन गरी बाँकी आफूले खाने चलन छ । यसरी विधिपूर्वक महिनादिनसम्म स्वस्थानीदेवीको पूजा आराधना गर्नाले मनोकांक्षा सिद्धि हुने र यस लोकमा सुखसम्पत्ति पाई परलोकमा समेत मोक्ष प्राप्त हुने जनविश्वास रही आएको छ ।
स्वस्थानी व्रत नेपाली मूलका हिन्दुले मात्र मनाउने र स्वस्थानी व्रत कथाभित्र पर्ने लावण्यदेश, सालीनदी, गौरीघाट, मृगस्थली, किराँतेश्वर, बागमती नदी लगायतका क्षेत्रहरू नेपालभित्रै पर्ने हुनाले नेपालको स्थानीय एवं मौलिक पर्वका रूपमा स्वस्थानी व्रतलाई लिइन्छ । यसरी महिना दिनभर घरघरमा वाचन एवं श्रवण गरिने श्रीस्वस्थानी व्रतकथाको महत्व धार्मिक एवं आध्यात्मिक रूपले मात्र नभई समाजका विकृतिलाई हटाएर स्वस्थानमा रहन प्रेरित गर्दछ । यसमा प्रेमको सन्देश सतीदेवीलाई महादेवले कैलाश र आफ्नो ज्योति स्वरूपको दर्शन दिएपश्चात् यी दुई पतिपत्नी बीच सुमधुर सम्बन्ध रहेको स्वस्थानीमा देखाइएको छ । सतीदेवीले आफ्ना पतिले खाने भाँङ, धतुरोको हिफाजातसँग राखिदिने र भोजन पतिले नखाएसम्म आफूले पनि नखाने जस्ता कार्यबाट पतिप्रेम दर्शाउँछ । देहत्याग गरेकी सतीदेवीलाई समेत बोकेर विक्षिप्त भई हिँड्नु सतीदेवीको सम्पूर्ण अंगपतन भइसक्दा पनि चाल नपाउनु महादेवको पत्नीप्रतिको प्रेम देखिन्छ । यसर्थ पनि स्वस्थानी कथालाई नेपाली समाजमा रहेका विकृत तथा विसंगतिलाई हटाई स्वस्थ समाज निर्माण गर्ने सन्देशको रूपमा लिने गरिन्छ ।