पाल्पा, नेपाललाई गहुँ आयात गर्न भारत सरकारले अनुमति दिएको छ । भारतले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको हो । उसले पाँच महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा गहुँ भित्रिएको भए पनि भारतले आधिकारीक स्वीकृत दिएको थिएन ।
भारतमै उत्पादन भएको गहुँ चोरी भएर भित्रिँदा महँगो मूल्य तिर्नुपरेपछि व्यवसायी र नेपाल सरकारले वैधानिक बाटोबाट गहुँ ल्याउन दिन भारतसँग आग्रह गरेका थिए । नेपाली पक्षको आग्रहपछि भारतीय पक्ष पनि नेपाललाई गहुँ दिन सहमत भएको हो । बुधबार भारत सरकारको वैदेशिक व्यापार महानिर्देशनालयले २०२३ मार्च ३१ सम्मका लागि भारतबाट नेपालमा ५० हजार टन गहुँ निर्यात गर्ने अनुमति दिएको छ । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा गहुँको मूल्य महँगो परेको थियो भने व्यवसायीहरू कालोबजारीबाट गहुँ किन्न बाध्य भएका थिए । भारतले गहुँ निर्यात बन्द गर्दा गहुँको मूल्य नेपाली बजारमा ३० देखि ४० प्रतिशतसम्म बढेको थियो ।यस अघि भारत सरकारले उपभोक्ता मुद्रास्फीति बढेर ७.७९ प्रतिशत पुगेपछि प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय युक्रेन र रूसबीचको युद्धका कारण गहुँको मूल्य निकै बढेको थियो । भारत सरकारले मुलुकभित्र बढ्दो खाद्य सुरक्षा र महंगीलाई ध्यानमा राख्दै निर्यातमा रोक लगाएको थियो । भारतमा गहुँको धेरै खेती हुने गरेको छ । यसपटकको गर्मीले गहुँको उत्पादनमा निकै कमी ल्याएको थियो । खास गरी मार्च–अप्रिलमा २५ देखि ३० डिग्री सेल्सियस तापक्रममा गहुँको उत्पादन बढी हुन्छ । तर, यसपालि यी महिनामा तापक्रम बढी भएपछि उत्पादन घटेको थियो । सरकारी तथ्यांक अनुसार भारतमा यसपालि गहुँको उत्पादनमा ५ प्रतिशतले कमी आएको छ । तर, पश्चिम उत्तर प्रदेश, पञ्जाब, हरियाणा तथा मध्यप्रदेशका किसानका अनुसार गहुँको उत्पादनमा १५ देखि २५ प्रतिशतसम्म कमी आएको छ । गहुँको उत्पादन र निर्यात ज्यादा गर्ने देश रूस र युक्रेन युद्वमा फसेका कारण पनि यसपछि अन्तर्राष्ट्रिय स्तरमै गहुँको मूल्य बढेको हो । यी देशमा युद्वका कारण भारतको गहुँको माग विश्व बजारमा बढेपछि भारतले पनि आफूलाई अपुग हुनेभन्दै निर्यातमा रोक लागएको थियो ।