Shittalpati
देउसी–भैलोको रकमबाट दृष्टिविहीन विद्यार्थीलाई खाना

पाल्पा, तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकमले कतै पिकनिक खाएर रमाईलो गरिन्छ भने कतै सामुहिक भाँडावर्तन अनि बाजागाजा किनमेल गर्ने प्रचलन छ । कतिपय देउसे भैलो समुहले भने संकलित रकम दामाशाहीले आपसमा बाँड्ने पनि गर्दछन् । तर तानसेन विशल बजारका युवाले भने देउसी भैलोबाट संकलित रकमबाट दृष्टिविहीन विद्यार्थीहरुलाई एक छाक खना खुवाएका छन् । उनीहरुले दमकडा नमुना माविका २४ जना दृष्टिविहीन विद्यार्थीहरुलाई एक छाक खाना खुवाएका हुन् ।

देउसीभैलो बाट उठेको एक लाख बढी रकमबाट छुट्याएको १६ हजार रकम दृष्टिविहिन विद्यार्थीहरुलाई खाना खुवाउँदा खर्च भएको समूहका संयोजक बृहस्पति राना मगरले जानकारी दिए । उनका अनुसार बाँकी रकम अन्य सामाजिक हितमा खर्च गरिने छ । कार्यक्रममा सहभागी विशालबजारका समाजसेवी डिल बहादुर रानाले विद्यार्थीहरुको लागि ६ हजार नगद, विद्यालयको अक्षयकोषका लागि कालिका फेसहाउस तानसेनका सञ्चालक धनबहादुर बुढाथोकीले १० हजार र बिशालबजारकै धर्म गाहाले ६ हजार नगद विद्यालयका प्राचार्य मोहन सापकोटालाई हस्तान्तरण गरे ।

पहिले –पहिले देउसी–भैलो खेलेर संकलन गरिएको दक्षिणा (रकम)बाट सामाजिक कल्याणका थुप्रै काम हुने गर्थे । तर हिजो आज भने त्यो निकै कम मात्रमा हुुने गर्दछ । सामुदायिक विद्यालय भवन, स्वास्थ्यचौकी, पाटी–पौवा, बाटो–घाटो, कुलो–कुलेसा र पुल–पुलेसा निर्माण तथा मर्मतका कार्यहरू गरिन्थ्यो । सामाजिक कल्याणको उद्देश्यले देउसी–भैलो खेल्दा संस्कृतिको जगेर्ना हुन्थ्यो नै, समाज आफैँ पनि लाभान्वित हुने गरेको थियो । हिजो आज भने धेरै ठाउँमा देउसी –भैलोबाट उठेको रकम मनोरञ्जनमै खर्चिने गरेको पाइन्छ । संस्कृति संरक्षण सँगसँगै समाज कल्याणको उद्देश्यले खेलिने देउसी–भैलो अहिले नितान्त अर्थमुखी र बेथितिपूर्ण बन्दै गएको छ । देउसी–भैलोको परम्परागत लय र भाकालाई आधुनिक गीत–संगीतले समेत खर्लप्पै निलेको छ । देउसी–भैलोको आफ्नै मौलिक भाका छ । तर, अहिले त्यो भाकालाई पछ्याउने वा त्यसलाई टपक्क टिपेर भट्याउन सक्ने युवाको संख्या नगण्य छ । हाहुमै खेलिन्छ देउसी–भैलो अहिले । देउसी–भैलोलाई सजिलै हाहुमा खेल्न सकिने बनाइदिएको छ आधुनिक प्रविधि र आधुनिक गीत–संगीतले ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update