Shittalpati
पाल्पाका विद्यार्थी अन्तर्राष्ट्रियस्तरको पुरस्कारबाट सम्मानित

पाल्पा । जिल्लाका केही विद्यार्थीहरु अन्तर्राष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित भएका छन् । अमेरिकाको पेन्सिलभेनिया राज्यको स्क्रान्टन सिटीस्थित स्टिम टाउन हलमा एक महिना अघि भएको अन्तर्राष्ट्रिय हेग्जागन चित्रकला प्रतियोगिताबाट उत्कृष्ट हुन सफल जिल्लाका नौं वटा विद्यालयका विद्यार्थीहरु अमेरिकी अन्तर्राष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित भएका हुन् ।

प्रतियोगितामा सहभागी न्यू होराइजन मावि कक्षा ३ मा अध्यनरत छात्र असिम गैरे र जनता मावि कक्षा १० मा अध्यनरत दिपक आले मगर सर्वोकृष्ट भई अन्तर्राष्ट्रियस्तरमा पुरस्कार जित्न सफल भएका छन् । त्यस्तै प्रतियोगितामा पाल्पा आवसीय विद्यालयकी मनिला श्रेष्ठ, रिभर भ्यालिका बैभव घिमिरे, विज्डम स्कूलकी दिया बलाल, माउन्ट भ्यालीका सम्राट राना, बेथल स्कूलका सुमन सारु, न्यू होराइजनका सिमसन सारु र विजु स्कूलकी विपना दर्लामी पनि उत्कृष्ट भई अन्तर्राष्ट्रियस्तरमा पुरस्कार जित्न सफल भएका हुन् ।

अन्तर्राष्ट्रिय हेग्जागन चित्रकला प्रतियोगितामा भाग लिएका विद्यार्थीबाट सिर्जना गरिएका चित्रहरुलाई अमेरिकाको स्टिम टाउनमा प्रदर्शनका लागि राखिएको थियो । प्रतियोगितामा जिल्लाका १४ ओटा विद्यालयका ४२ जना विद्यार्थीहरुले सहभागिता जनाएको कार्यक्रम संयोजक, काउन्सेलर तथा युवा उत्प्रेरक संगिता भट्टराईले बताइन् । जापान, अस्ट्रेलिया, इजिप्ट, कोरिया, पोल्याण्ड, प्रोर्चुगल जस्ता विभिन्न देशहरुबाट प्रतिस्पर्धा भएको प्रोजेक्टको फाउन्डर तथा निर्देशक बेथ बुर्खाउसरले बताए । पुरस्कृत विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच तानसेनमा पुरस्कार सहित सम्मान गरिएको छ ।

न्यूहोराइजन माविको आयोजनामा अमेरिकाबाट प्राप्त पुरस्कार दिइएको छ । पुरस्कार वितरण तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिर्दै उनीहरुको आन्तरिक प्रतिभा प्रस्फुटनका लागि नगर सरकारले पनि विशेष ध्यान दिने बताए । विशिष्ट अतिथि तथा हेग्जागन प्रोजेक्ट अमेरिकाकी प्रतिनिधि मेरियाना कुपर मिल्क्सले कार्यक्रमको महत्व र संस्थाको क्रियाकलापका विषयमा जानकारी गराएकी थिइन् ।

नेपालका लागि अन्तर्राष्ट्रिय संयोजक सविन शिवाकोटीले २०२० को विषय ‘विविधता’ घोषणा गर्दै उक्त विषय माथि विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्याब्सन पाल्पाका अध्यक्ष भरत न्यौपानेले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पाउनु जिल्लावासीका लागि गौरवको विषय रहेको बताए । विद्यालयका प्राचार्य डासुराम पन्तको अध्यक्षता,सहायक प्राचार्य चन्द्रकान्त न्यौपानेको स्वागत, किशोर खनालको व्यवस्थापन, कृष्णप्रसाद ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update