
गुल्मी । जिल्लाको सदरमुकाम तम्घासमा विद्यालयमा आधारित विपद् न्यूनिकरण कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय पूनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षाको आयोजनामा जिल्लामा भूकम्प पछि निर्माण गरिने भवनहरुमा जोखिम न्यूनिकरण गर्ने उद्देश्यले विद्यालयमा आधारित विपद् न्यूनिकरण कार्यक्रम गरिएको हो ।
निर्माण भइरहेका कक्षा कोठा, भवनहरु सुरक्षित र मजबुद बनाउन कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने कार्यन्वयन इकाई शिक्षाका प्रमुख पिताम्बर पन्थीले बताए । पुनर्निर्माण भइरहेका भवन र निर्माण गर्न बाँकी विद्यालयका भौतिक संरचनाहरु जोखिम नहुन् भन्नका लागि विद्यालयमा आधारित कार्यक्रमको आयोजना गरिएको प्रमुख पन्थीले जानकारी दिए । कार्यक्रममा जिल्लाका प्रधानाध्यापकहरुलाई विपद् न्यूनिकरण र नेपालको अवस्थाका विषयमा शसस्त्र प्रहरी बल गुल्मका प्रहरी नायव उपरीक्ष बिनोदराज खनाल, जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षाका इन्जिनियर लक्ष्मण राउतले जानकारी गराएका थिए ।
कार्यक्रममा सानो कुरामा ध्यान दिन सके विपद्बाट जोगिन सकिने जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले बताए । प्राकृतिक विपद्ले भन्दा पनि हामीले निर्माण गरेका संरचनाबाट ठूलो जनधनको क्षती हुने गरेकाले विपदलाई न्यूनिकरण गर्न संरचना निर्माणमा ध्यान दिनुपर्नेमा प्रमुख पराजुलीले जोड दिए । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले भूकम्प पछि प्रायःजसो निर्माण भएका भवनहरुमा केहि परिर्वतन आएपनि विपदको समयमा केहि समय सम्झिने र पछि बिर्सने बानीले पनि विपद् न्यूनिकरणमा ध्यान नगएको प्रति चिन्ता व्यक्त गरे । कार्यक्रममा जिल्लाका ४३ वटा विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।