आसन्न निर्वाचनका लागि टिकटले च्याप्दै गरेको जिन्दगी, शब्दसँग धेरै नेताहरुका मन बरालिएका छन्, अहिले । संघीय र प्रादेशिक निर्वाचनका लागि दिन नजिकिदै जाँदा, नेताहरु टिकट नमागे पनि नहुने र माग्दा पनि टिकटकै बोझले आफु च्यापिने डरमा छन् । टिकटलाई प्रतिष्ठा र मानको विषय बनाई रहेका कतिपय नेताहरु टिकटकै लागि दौडधुपमा लाग्दा त्यसैबाट च्यापिएर आफ्नो राजनैतिक यात्रालाई विरासतबाटै उन्मुक्ती पाईने त होईनन् ? भन्ने चिन्ताको बोझ झन् भन्दा झन् फराकिलो बनाई रहेका छन् । कतै स्वतन्त्रको हाउगुजी अनि कतै मोटो धनराशिको व्यवस्थापन गर्ने विषय अहिले टाउँको दुखाई बनिरहेको छ । कर्म भन्दा चाकडी र चाटुकारितामा विश्वास गर्नेहरु केही मात्रामा खुसी देखिएको भएता पनि हरेक क्षेत्रको नेतृत्व गर्ने राजनैतिक चरित्रमै देखापरेको अविश्वासको खडेरीले भने मुलुकको राजनैतिक चरित्र माथि गम्भीर प्रश्न चिन्ह खडा गरेको छ । राजनेताहरु आफु आफैमा अविश्वासको पगरी गुँदिरहेका छन् ।
युवा र नयाँ पुस्ताप्रतिको विश्वासमा खडेरी परेको अवस्थाका कारण नेपाल राजनैतिकदलले आवश्यकता अनुसारका असल राजनैतिक उत्तराधिकारी जन्माउँन नसक्नु पनि अर्को समस्या हो भन्ने प्रसंगहरु पनि यदाकदा अगाडि आइरहेका छन् । राजनीतिलाई समाज रुपान्तरणको सामाजिक दायित्व भनिएपनि परिवारवादबाट राजनीतिक ओतप्रोत छ ।
विगतले वर्तमानलाई नेपाल र नेपालीको भविष्य निर्माणमा परिपक्व उत्तराधिकारी जन्माउने प्रसव पीडाबोध नभएको भन्ने आरोप लगाइरहँदा युवा पुस्ताले मस्तिस्कमा समझदारी, हृदयमा इमानदारी, काँधमा जिम्मेवारीपनको बोध गर्न नसकेको होकि भन्ने चिन्ताको शैयाले जोड्न सकेको छैन । यी र यस्ता विविध समस्या बिचको हाम्रो राजनैतिक नेतृत्व निर्माण गर्ने कार्यलाई समयअनुसारको प्राथमिकता नदिने हो भने हाम्रो मुलुकमा असल राजनैतिक उत्तराधिकारीहरुको खडेरी परिरहने छ र पाकापुस्ताले आर्जेको लोकतन्त्र, संघीयता र बहुलवादको वयस्कता देख्न पाइन्न कि भन्ने चिन्ताले सधैं सताइरहने छ ।