
रामचन्द्र रायमाझी
पाल्पा, लामो समय बन्द, हड्तालको सास्ती झेल्न नपरेका नेपालीले मंगलबार भने फेरी सास्ती झेल्नु पर्यो । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले सरकारसँग भएको आफ्ना कार्यकर्ता माथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेपाल बन्दको आह्वान गरेपछि सर्वसाधारणले सास्ती खेप्नुपरेको हो ।
तानसेनका ७२ वर्षीय देवेन्द्र पाण्डेले विगत एक दशकदेखि सुगर, दम र प्रेसरको औषधि नियमित खाँदै आएका छन् । सोमबार औषधि सकिएपछि मंगलबार बिहान उनी लुम्बिनी मेडिकल कलेज प्रभास जान बसपार्क पुगे । त्यहाँ पुग्दा सुनसान देखेपछि उनले बसपार्कमा रहेका एक जना यातायात व्यवसयीलाई सोधे र बल्ल थाहा पाए नेपाल बन्द रहेको । उनी जसरी पनि औषधिका लागि मेडिकल पुग्नु नै थियो । एकछिन उनले सोँचे दूध, तरकारीका गाडी आए त्यसैमा जाने । पाण्डे एक घण्टा बसपार्कमै बसे । त्यति बेलासम्म पनि कुनै पनि गाडी नआएपछि उनी हिडेरै केही पर पुगेका थिए । त्यत्तिकैमा एम्बुलेन्स आयो र उनी त्यसैमा चढेर प्रभास पुगे । मेडिकलमा पुगेर औषधि किने । बिहान आउँदा एम्बुलेन्समा आएका उनी औषधि लिएपछि घर कसरी जाने भन्ने चिन्तामा परे । छिट्टफुट्ट मोटरसाइकलहरु चले पनि सार्जननिक गाडीहरु नचल्दा उनी समस्यामा परे । उनले सडकमा गुडेका मोटरसाइकल रोक्न आग्रह गरे तर कसैले पनि नरोकेपछि दिउँसो २ बजेसम्म बाटोमै अलपत्र परे । विहान लिएर आएको एम्बुलेन्स फर्कर्ने आशामा बसेका उनी अन्ततः साँझ सवारी साधन चलेपछि मात्रै घर पुगे ।
आइतबार गुल्मीबाट तानसेन आएका अशोक छन्त्याल दुईदिनको काम सकेर मंगलबार गुल्मी फर्किने योजनामा थिए । उनी तानसेनमा पढ्न बसेकी छोरीलाई भेट्ने र अरु निजी कामले तानसेन आएका थिए । मंगलबार जसरी भए पनि गुल्मी फर्कनुपर्ने उनी दिउँसो करिब एक बजेदेखि पाँचबजेसम्म पाल्पा बसपार्क माथिको चोकमा गाडी कुरेर बसे, दूधका गाडीहरु पाए जान पाइन्थ्यो कि भनेर । तर, नपाएपछि उनी साँझ सवारी साधन चलेपछि मात्रै गुल्मी जान पाए । पाल्पाको बगनासकाली यम्घाकी मिना खनालले पनि तानसेन मिसन अस्पताल आउन निकै सास्ती खेप्नुप¥यो । भाउजुको मिसन अस्पतालमा उपचार भइरहेको छ । भाउजुको हेरचाहमा आमालाई सघाउनका लागि आउनुपर्ने उनी हिँडेरै मिसन अस्पताल आइपुगिन् । पाण्डे, छन्त्याल र खनाल त केही प्रतिनिधि पात्र मात्रै हुन् । बन्दका कारण उनीहरु जस्ता धेरैले सास्ती खेप्नु पर्यो । बन्दले पाल्पासहित देशैभरको जनजिवन प्रभावित बन्न पुगयो । ठाउँ ठाउँमा प्रदर्शनकारी ‘बन्द सफल पारौं’ भन्दै बिहानदेखि सडकमा निस्किएका थिए । त्यस क्रममा कतिपय ठाउँमा सवारी साधन तोडफोड गरे भने प्रहरीसँग झडपसमेत भयो । ठाउँ ठाउँमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ समेत गर्यो । पाल्पामा भने त्यस्तो अप्रिय घटना भने नघटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाल्पामा बन्दकर्ता सडकमा नदेखिए पनि बिहानैदेखि लामो तथा छोटो दूरीका गाडीहरू चल्न सकेका थिएनन् । छिट्टफुट्ट रुपमा मोटरसाईकल र केही निजी गाडीहरु चले पनि सार्वजनिक गाडीहरु चलेनन् ।
तानसेनका चोकचोकमा विहानैदेखि सुरक्षाकर्मी परिचालित थिए । भौतिक आक्रमण, तोडफोड वा आगजनीका घटना नहुन् भनेर प्रहरी परिचान गरिएकोे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बन्दमा अत्यावश्यक ढुवानीका साधनहरु भने चलेका थिए । कोरोना महामारीका कारण लामो समयपछि खुलेका शैक्षिक संस्थाहरु समेत बन्द हुँदा विद्यार्थीहरु उत्तिकै मर्कामा परे भने अन्य सर्वसाधारण, उद्योगी, व्यवसायी ठूलो घाटा व्यहोर्न बाध्य भए । गन्तव्यमा पुग्न नपाएका यात्रुहरु साँझ खुलेपछि मात्रै गन्तव्यतर्फ प्रस्थान गरे ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र कर्णदीप बुढाथोकी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले डेढ वर्षअघि भएको सहमति कार्यान्वयनको माग गर्दै नेपाल बन्द गरेको थियो । केपी शर्मा ओली सरकारले २०७५ फागुन २८ मा चन्द समूहमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि चन्द समूहका २ हजारभन्दा बढी नेता/कार्यकर्ता पक्राउ परेका थिए । उनीहरु पक्राउ परेपछि चन्द नेतृत्वको नेकपाले आन्दोलन गर्दै आएको थियो । पटक–पटकको आन्दोलनपछि ओली सरकार र चन्द समूहबीच २०७७ फागुन २० मा तीनबुँदे सहमति भएको थियो । सहमतिमा ‘दुवै पक्ष (नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी) बीच देशको राजनीतिक समस्या वार्ता तथा संवादबाट समाधान गर्ने, नेकपाले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकार नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका पार्टीका नेता/कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्र्ने उल्लेख थियो ।’ तर उक्त सहमति कार्यान्वयन नभएपछि कार्यन्वयनको माग राख्दै मंगलबार चन्द नेतृत्वको नेकपासहित चार दलले नेपाल बन्दको आह्वान गरेका थिए ।