
हाम्रा संवाददाता
पाल्पा, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाँचदलीय गठबन्धनले नै निर्वाचनमा सफलता हासिल गर्ने बताएका छन् । एकीकृत समाजवादीले सोमबार तानसेनमा गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै खनालले दृढतापूर्वक गठबन्धन अगाडि बढेकाले निर्वाचनमा सफलता हासिल गर्ने दावी गरेका हुन् । उनले गठबन्धन नगरी एक्लै हिंड्ने दलको असफलता अनिवार्य रहेको बताए ।
खनालले भने, ‘जो एकतावद्ध भएर अघि बढ्छ, उसलाई सफलता मिल्छ, जो एक्लै हिंड्छ, त्यो छिन्नभिन्न हुन्छ ।’ नेता खनालले अहिलेको गठबन्धन राजनीतिक गठबन्धन भएको र यो एउटा विशिष्ट उद्देश्य प्राप्तिका लागि बनेको बताए । पाँच दलीय गठबन्धनलाई बलियो बनाएर आगामी मङ्सिरमा हुने चुनावमा जानुको विकल्प नरहेको समेत उनले बताए । नेता खनालले भने ‘पाँच दलको बीचमा सुमधुर सम्बन्ध बनाएर चुनावमा जानुपर्छ, सफलता सुनिश्चित छ । ’ खनालले दुई तिहाईको सरकार हुँदा केपी ओलीले जनताको पक्षमा कामै गर्न नसकेको आरोप लगाए । जनताले दुई तिहाई मत सहित देश विकासको म्याण्डेड दिएको भएता पनि ओलीले त्यसलाई लत्ताएर व्यक्तिवादी चरित्र प्रस्तुत गरेको उनले आरोप लगाए । ओलीले उन्माद भएर दुई/दुई पटक संसद भंग गरेको, पार्टीको नीति सिद्धान्त भन्दा बाहिर काम गरेको, व्यक्तिवादी निर्णय हावी भएको कारण बाध्य भएर आफूहरुले त्यसको विरोध गरेको नेता खनाले बताए । तत्कालिन केपी ओली नेतृत्वको सरकारले भूमिहीन, किसान, श्रमिक, उद्योगीहरुको पक्षमा काम गर्न नसकेका समेते उनले बताए । वाम एकताको विषयमा खनालले भने, ‘मुख्य–मुख्य भन्ने वामपन्थी समूहका नेताहरुले नै अहिले वाम एकता गर्नेमा पहल गर्न सकेका छैनन्, त्यसैले तत्काल वाम एकताको सम्भावना छैन् ।
खनालले वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक कार्यदिशा नमिलि तत्काल वाम एकता नहुने पनि प्रष्ट्याए । ‘तर, अहिले नेकपा माओवादी र समाजवादी पार्टीबीच अलि निकटता कायम भएको छ,’,उनले भने, ‘हामीले त्यो निकटतालाई अझै निकट बनाउन कोसिस गरिरहेका छौं । अहिले पार्टी एकता हुने सम्भावना भने छैन । तालमेल र कार्यगत एकता हुन्छ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका खनालले नेकपा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोककुमार शाही, उपप्रमुख लक्ष्मीदेवी पाठक सहितका प्रभावशाली नेताहरुलाई स्वागत गर्दै एमालेबाट अझ धेरैले विद्रोह गर्ने दावी गरे । विद्रोह गरेर पार्टीमा आउने नेता कार्यकर्तालाई पार्टीले उचित जिम्मेवारी दिने समेत नेता खनाल बताए ।