
हाम्रा संवाददाता
गुल्मी, पूर्व मन्त्रीदेखि सांसद र प्रभावशाली नेताहरु भएको गुल्मीको एक क्याम्पस आर्थिक संकटमा परेको छ । शैक्षिक धरोहरको रुपमा छुट्टै पहिचान बनाउन सफल भएको रेसुंगा बहुमुखी क्याम्पस अहिले आर्थिक संकटमा परेको हो । विसं २०३९ सालमा स्थापना भएको क्याम्पसले व्यवस्थापनमा आर्थिक समस्या भएको भन्दै आर्थिक संकटकाल घोषणा गरिसकेको छ । पूर्व मन्त्रीहरु गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, रामकुमारी झाँक्री, पूर्व सांसद चन्द्र भण्डारी लगायतका प्रभावशाली नेताहरु रहेको जिल्लाको क्याम्पसले नै आर्थिक संकटकाल घोषणा गरेपछि अहिले व्यापक चर्चा भएको छ ।
राजनीतिक र सरकारको नेतृत्वमा पुगेका नेताहरुकै जिल्लाको शैक्षिक धरोहर आर्थिक संकटमा परेको भन्दै धेरैले नेताहरुको खिल्ली उडाएका छन् । क्याम्पस सञ्चालक समितिले यस अघि नै आर्थिक अभावको कारण क्याम्पस सञ्चालन गर्न समस्या भएपछि आर्थिक संकटकाल घोषणा गरेको हो । क्याम्पसका प्रध्यापक तथा कर्मचारीहरूको आठ महिनाको पारिश्रमिक उपलब्ध गराउन नसकेपछि आर्थिक संकटकाल घोषणा गरिएको क्याम्पसले जनाएको छ । क्याम्पसमा छ महिनाका लागि आर्थिक संकटकालको घोषणा गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीको बताए । क्याम्पसको वर्तमान आर्थिक अवस्था तथा समग्र वस्तुस्थितिको अध्ययन गरी प्रतिवेदन पेश गर्न क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष धर्मबहादुर विश्वकर्माको संयोजकत्वमा सञ्चालक समिति सदस्य ठाकुरप्रसाद पाण्डेय र गोपालप्रसाद भुसाल सदस्य रहने गरी तिन सदस्यीय ‘अध्ययन तथा समाधान सुझाव उपसमिति’ गठन गरिएको छ । क्याम्पसले वर्तमान अवस्था तथा समयानुकुल वर्तमान क्याम्पस नियमावली २०४७ (संशोधित ०७६) मा संशोधन गर्नुपर्ने भएकाले भदौ १८ गते विशेष क्याम्पस साधारणसभाको आÞवान समेत गरेको छ । क्याम्पसको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गरी अर्को व्यवस्था नहुँदासम्मका निम्ति क्याम्पस प्रमुखबाट मात्र दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने तथा सहायक क्याम्पस प्रमुखहरुलाई राजीनामा दिई सहयोग गर्न अनुरोध गर्ने निर्णय क्याम्पसले गरेको छ ।
क्याम्पस नियमावली ०४७ (संशोधित ०७६) मा समयानुकूल आवश्यक बुँदाहरुमा संशोधन गर्नका लागि संशोधन मस्यौदा पेश गर्न क्याम्पस सञ्चालक समितिका सदस्य यज्ञप्रसाद पन्थीको संयोजकत्वमा पार्वता थापा र सदस्य सचिव क्याम्पस प्रमुख हरिबहादुर खत्री रहने गरी तीन सदस्यीय नियमावली मस्यौदा उपसमिति गठन गर्ने र उक्त उपसमितिले पाँच दिनभित्र मस्यौदा पेश गर्ने निर्णय गरेको बताइएको छ । ‘त्रिभुवन विश्वविद्यालयमा राष्ट्रिय स्तरमै विद्यार्थी भर्नादर खस्किएको छ । यसबाट रेसुंगा बहुमुखी क्याम्पस पनि अछुतो रहन सकेन्’ क्याम्पस प्रमुख हरिबहादुर खत्रीले भने, ‘यस क्याम्पसमा गरिब, विपन्न पढ्ने गर्दछन् । उनीहरु माथि धेरै शुल्क पनि लगाउन सकिदैन् ।’ विद्यार्थीबाट उठाइएको शुल्कले मात्रै क्याम्पसको प्रशासनिक खर्च धान्न नसकिएको भन्दै दीगो आर्थिक स्रोतको बाटो नहुँदा क्याम्पसले आर्थिक संकट बेहोर्नु परेको उनले बताए । आर्थिक संकट समाधानका लागि आन्तरिक गठित समिति प्रतिवेदनको आधारमा नै समस्याको समाधान गरिने खत्रीले बताए ।
रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सबैको सहयोग र सहकार्यमा क्याम्पसको आर्थिक संकटलाई पार लगाउने बताए । ‘सुरुदेखि क्याम्पसको हरेक गतिविधिसँग आफु साक्षात्कार रहेको उल्लेख गर्दै’, उनले भने, ‘क्याम्पसको दीगोपनाका लागि हामी प्रतिबद्ध छौं । यसका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारसँग समन्वय गरेरै अगाडी बढ्छौं ।’ क्याम्पसलाई नयाँ तरिकाले नयाँ धारबाट सञ्चालन गर्न जरुरी रहेको उनले बताए । क्याम्पसमा स्नातकोत्तरसम्म अध्ययन/अध्यापन हुँदै आएको छ । हाल यस क्याम्पसमा ७ सय ६० विद्यार्थी अध्ययनरत रहेका छन् । क्याम्पसमा पूर्णकालीन प्राध्यापक २४ जना र १० जना आंशिक प्राध्यापकमध्ये ७ जना प्राध्यापनरत छन् । पूर्णकालीन कर्मचारी १० जना रहेका छन् ।