
कृष्ण पोखरेल
पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा अमरनारायणको रथयात्रा निकालिएको छ । तत्कालीन समयमा सेन राज्य पाल्पा नेपालमा राज्य विलय भएपछि पाल्पाको कमाण्डर भएपछि काजी अमरसिंह थापाले नारायणको कलात्मक मन्दिर निर्माण गरी हरेक वर्ष तानसेनमा जात्रा निकाल्ने प्रचलन अनुरुप यस वर्ष आइतबार निकालिएको हो ।
रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको साथै जिल्ला स्थित कार्यालय प्रमुख, टोल विकास संस्था, विद्यालयका शिक्षक विद्यार्थी, भजनमण्डली सहित सयौंको संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो ।
नेपाल एकीकरणको सिलसिलामा सबैभन्दा पछि मात्र विलय भएको पाल्पा राज्यको प्रशासन चलाउन प्रथम बडाहाकिमको रूपमा जनरल अमरसिंह थापा आएका थिए । जनरल अमर सिंह थापाले वि.सं. १८६३ मा वार्षिक खर्च चलाउन माडी फाँटमा हजार मुरी माटो गुठीको व्यवस्था गरी यो अमर नारायणको मन्दिर निर्माण गराएका थिए । मन्दिरमा भगवान नारायणको मुर्ति राखिएको भएपनि अमर सिंह थापाले आफै बनाएकाले उक्त मन्दिरको नाम नै अमर नारायण मन्दिर राखिएको छ । मन्दिर निर्माण पुरा भएपछी प्रत्येक बर्ष भाद्र कृष्ण नवमीको दिन रथयात्रा निकाली बजार परिक्रमा गर्ने परम्परा रहेको छ । कोभिड १९ का कारण विगत २ बर्ष मन्दिर परिसरमै औपचारीकताका लागि मात्रै रथयात्रा निकालिएको थियो । यस बर्ष भने रथयात्रा भव्यरुपमा गरिएको छ ।
यो मन्दिर बनाउन काठमाडांैका नेवार कालीगढहरु झिकाएका कारण पनि तानसेनमा काठमाडौंमा जस्तै असन, टुँडिखेल, मखन आदि नामहरु राखी सोही अनुसार कला संस्कृती जात्रा सञ्चालन हँुदै आएको छ । पाल्पाको अमरनारायण मन्दिरमा किर्तीपुरको उमामहेश्वरको मन्दिरमा जस्तै पेगोडा शैलीको टुँडालको पुछारमा विभिन्न आसनमा कामक्रिडाका चित्रहरु कुँदिएका छन् । काजी अमर सिंह थापाकै कारण पाल्पाका विभिन्न मन्दिरहरुको रथयात्रा निकाल्ने परम्परा चलेको बुढापाकाहरुको भनाईरहेको छ । गुठीको जग्गा प्रशस्त भएपनि मोहीबाट कति पनि खर्च नआएकाले रथयात्रा सञ्चालन गर्न कठिनाई भएको अमर नारायण मन्दिर गुठि व्यबस्थापन समितिका सचिव महेश्वर श्रेष्ठले बताए । पाल्पामा गाठे मंगलदेखि शुरु भएको जात्राको रौनक नारायण जात्रासम्म रहने गरेको छ । तानसेनमा गाईजात्रा, रोपाइँजात्रा, गणेशजात्रा, बाघ जात्रा, भीमसेन जात्रा, लक्ष्मीनारायण जात्रा, हनुमान जात्रा, शिवजात्रा, कृष्णजात्रा लगायतका जात्राहरु सञ्चालन हुँदै आएको पाइन्छ ।