Shittalpati
तानसेन गुठीद्वारा छात्रवृत्ति, पुरस्कार र जात्रालाई सहयोग

पाल्पा, धार्मिक, सांस्कृतिक र सामाजिक परोपकारीको क्षेत्रमा सक्रिय रहँदै आएको तानसेन गुठी तानसेन शाखाले छात्रवृत्ति, पुरस्कार, स्वास्थ्य उपचार खर्च र सांस्कृतिक पर्व जात्राहरुका लागि आर्थिक सहयोग गरेको छ । गुठीले तानसेनमा अध्ययनरत गरिब, जेहान्दार विद्यार्थीलाई छात्रवृत्ति, एसईईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कार, आर्थिक अवस्था कमजोर भएकालाई उपचार खर्च र तानसेनमा सञ्चालन हुँदै आएका जात्रा पर्वका लागि आर्थिक सहयोग गरेको हो । उसले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ३ लाख ६० हजार ६ सय ५० बराबरको छात्रवृत्ति, पुरस्कार र आर्थिक सहयोग गरेको छ ।

गुठीले जन्मभूमी तानसेन, पाल्पाबाट काठमाडौंमा रहेर विभिन्न पेसा र व्यवसाय गर्दै आएका व्यक्तिहरुबाट संकलन भएको रकम हस्तान्तरण गरेको हो । उक्त रकम कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, गुठी तानसेन शाखाका अध्यक्ष सुशिल प्रधान, गुठीका केन्द्रीय निवर्तमान अध्यक्ष सर्जुमान लिगलल, अक्षय कोषदाता सुनिल गोविन्द श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन लगायतले उक्त रकम सम्बन्धित विद्यार्थी, व्यक्ति र सघसंस्थाहरुलाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनको शिक्षा, स्वास्थ्य, सामाजिक, धार्मिक, साँस्कृतिक क्षेत्रको विकासमा गुठीले गर्दै आएको सहयोग प्रशंसनिय रहेको बताए ।

उनले आगामी दिन ग्रामीण क्षेत्रका विद्यार्थी, संघ संस्थाहरुलाई समेत सहयोग गर्न आग्रह गरे । नगर प्रमुख श्रेष्ठले नगरका ग्रामीण क्षेत्रको विकास नभएसम्म समग्र नगरको विकास हुन नसक्ने भएकाले ग्रामीण क्षेत्रसम्म सहयोगका कार्यक्रमहरु पुर्‍याउन आवश्यक रहेको औल्याए । प्रमुख जिल्ला अअधिकारी जगन्नाथ पन्तले शिक्षा, स्वास्थ्य, साँस्कृतिक सम्पदाहरुको संरक्षणमा गुठीले देखाएको सहयोग र सद्भाव अनुकरणीय रहेको बताए । उनले कोरोना महामारी बढ्दै गएकाले खोप लगाए पनि उच्च सतर्कता भने अपनाउनु पर्नेमा जोड दिए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले शिक्षा, स्वास्थ्य र सांस्कृतिक प्रति सबैले चिन्तन, मनन् गर्नु पर्ने बताए । गुठीका केन्द्रीय निवर्तमान अध्यक्ष सर्जुमान लिगलले आगामी दिनमा गुठीको अक्षयकोष वृद्धि गर्दै जाने बताए । कार्यक्रममा गुठीका केन्द्रीय पूर्व सदस्य अशोकमान महर्जन, भगवती मन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष भिमसेन कार्की, नेपाल रेडक्रस पाल्पाका सभापति बुद्धिप्रसाद शर्मा, गुठीका सल्लाहकार केदारलाल श्रेष्ठ लगायतले गुठीले शिक्षा, स्वास्थ्य र सांस्कृतिक क्षेत्रमा देखाएको सक्रियता अनुकरणीय रहेको बताए । गुठी तानसेनका अध्यक्ष सुशिल प्रधानको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष सकुन्तला बज्रचार्यको स्वागत, सचिव विनयराज बज्रचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update