
पाल्पा, लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएको छुट्टाछुट्टै घटनामा पाँच जनाको ज्यान गएको छ । लुम्बिनी प्रदेशको रोल्पा, कपिलवस्तु, दाङ, रूपन्देही र गुल्मीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको ज्यान गएको हो ।
बाल्टीमा डुवेर गुल्मीमा एक बालिकाको ज्यान गएको छ । गुल्मीदरबार गाउँपालिका–४ पिपलडाँडाका नवराज शर्माकी एक वर्षीया छोरी अर्जिका शर्मा आल्मुनियमको बाल्टीमा डुवेकी थिइन । आफ्नै घरमा खेल्ने क्रममा भाडा–वर्तन धुन राखेको बाल्टीमा डुवेर अशक्त भएकी बालिकालाई प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा उपचारका लागि लगिएकोमा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस्तै रूपन्देहीमा पौडी खेल्ने क्रममा डुवेर एक बालकको ज्यान गएको छ । यहाँको देवदह नगरपालिका–८ बंगालीस्थित बंगालीखोला साठीबारी बाँधमा पौडी खेल्ने क्रममा डुवेर सोही ठाउँका ११ वर्षीय सुमन थापाको ज्यान गएको हो ।
रोल्पामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । रोल्पाको रुन्टिगढी गाउँपालिका–२ धैरेनी बस्ने ६८ वर्षीय लक्ष खत्री सोही गाउँपालिका–४ सुर्पालस्थित मकै बारीमा मृत अवस्थामा फेला परेका हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै कपिलवस्तुमा एक बालिका नदी किनारमा मृत फेला परेकी छन् । यहाँको महाराजगंज नगरपालिका–११ प्रभातनगर बस्ने राम लखन भरकी ६ वर्षीया छोरी अस्मिता भर घर नजिकै बेल नदीको किनारमा मृत अवस्थामा फेला परेकी हुन् । घरबाट हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । उनको के कति कारणले ज्यान गएको भन्ने विषयमा खुल्न सकेको छैन । दाङमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । घोराही उपमहानगरपालिका–३ स्थित रनघरा बबई नदीको किनारमा सोही उपमहानगरपालिका–५ धारापानी बस्ने ६५ वर्षीया शिवा नेपाली मृत अवस्थामा फेला परेकी हुन् ।