रामचन्द्र रायमाझी
पाल्पा, अधिकांश वस्तु विदेशबाट आयात गर्दा मुलुकको व्यापार घाटा बढिरहेको अवस्थामा पाल्पा सिमेन्ट इण्डष्ट्रिजले भने आफ्नो उत्पादन भारतीय बजारमा विस्तार गरेको छ । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको उद्योगले तानसेन ब्राण्डको तयारी सिमेन्ट पहिलो पटक भारतीय बजारमा विस्तार गरेको हो । उसले शुक्रबारदेखि सिमेन्ट निर्यात गर्न थालेको छ । नेपाली बजारमा प्रतिष्ठा कमाएको उद्योगले पहिलो दिन ३ हजार बोरा सिमेन्ट भारत निर्यात गरेको हो । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सिमेन्ट निर्यात गर्न प्रोत्साहित गर्ने नीति लिएपछि हौसिएको सिमेन्ट उद्योगले आफ्नो उत्पादन भारत निकासी सुरु गरेको हो । सरकारले बजेटमार्फत सिमेन्ट निकासीमा ८ प्रतिशत नगद अनुदान दिने घोषणा गरेपछि विभिन्न उद्योगले भारतीय बजार ताकेका थिए । अन्य उद्योगले संभावित अध्ययन गरिरहेका बेला पाल्पा सिमेन्टले भने निर्यातका लागि बाटो खोलेको छ ।
प्राम्भिक चरणमा रुपन्देहीको सीमानाका सुनौली बजारदेखि गोरखपुरसम्मको बजारमा सिमेन्टको विक्री वितरण विस्तार गरिएको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले एजनेडीलाई जानकारी दिए । उनले भने ‘शुक्रबारदेखि हामी सिमेन्ट पठाउन सुरु गरेका छौं, त्यसका लागि भारतीय सिमेन्ट बिक्रेताहरुसँग सम्झौता भइसकेको छ । सुरुको चरणमै भारतबाट सिमेन्टको माग राम्रै आएको छ । यसले उद्योगलाई थप उत्साहित बनाएको छ ।’ उद्योगको दैनिक १ हजार ८ सय टन क्लिंकर र ३ हजार टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ । उक्त क्षमताको उत्पादन भए पनि अहिले दैनिक १ हजार ५ सय टन क्लिंकर र मागको आधारमा १ हजार ५ सयदेखि दुई हजारसम्म सिमेन्ट उत्पादन गर्दै आएको जनसम्पर्क प्रबन्धक निरौलाले बताए । भारतमा मागको आधारमा सिमेन्ट निर्यात गर्ने उद्योगले जनाएको छ ।नेपालको उत्पादन भारतीय बजारमा निर्यात हुन थालेपछि नेपाली नागरिकहरु उत्साहित भएका छन् । नेपाल आयात मात्र गर्ने देशको सूचीमा रहिरहेका बेला पाल्पा सिमेन्टले उत्पादन भारत पठाउन थालेपछि यहाँका नागरिक उत्साहित भएका हुन् । नेपाल सिमेन्टमा आत्मनिर्भर भई भारत निर्यात गर्नु सबैको गौरवको कुरा रहेको माथागढी गाउँपालिकाका संस्थापक तथा निवर्तमान अध्यक्ष सन्तोष थापा मगरले बताए । माथागढी–७, रहवासमा चुनढुंगा खानी रहेको उद्योगले नेपालमा मात्र नभई भारतमा समेत निकासी गर्न थाल्नु माथागढीवासीका लागि मात्र नभई सिंगो नेपालका लागि गौरवको कुरा भएको नेपाली काँग्रेस पाल्पाका सचिव समेत रहेका थापाले बताए । उनले भने ‘ सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा सिमेन्ट निर्यात गरे ८ प्रतिशत प्रोत्साहन अनुदान दिने घोषणा गरेकाले पनि उद्योगीहरुलाई थप प्रोत्साहन मिलेको छ । यसले सिमेन्ट निर्यात गरेर मुलुकको व्यापार घाटा केही रूपमा भए पनि कम गर्न सक्ने छ ।’ भारत निकासीले नेपाली सिमेन्ट मात्र नभई समग्र अर्थतन्त्रमा सुधार ल्याउने उनले विश्वास व्यक्त गरे । थापाले भने, ‘नेपाली सिमेन्ट पनि अन्तर्राष्ट्रिय बजारमा विक्री हुन सक्छ भन्ने सन्देश दिने छ ।’ यहाँको उत्पादन बजार खपत भएर मात्र नसकिने भए पछि सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि बजेटमा सिमेन्टलाई निर्यातजन्य उद्योगको रूपमा राखेको भए पनि पहिलो पटक आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा व्यवस्था गरेको हो । पाँच वर्षपहिले स्थापित पाल्पा सिमेन्ट उद्योगले तीन वर्षअघिदेखि उत्पादन सुरु गरेको हो । उत्पादनको छोटो अवधिमै उद्योगले आफ्नो उत्पादनलाई भारत निकासी गर्न सफल भएको छ ।