
पाल्पा, रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले यूपी ५५ एडी ०६४८ नम्बरको भारतीय मोटरसाइकलमा सवार तीन जनालाई आइतबार राती हतियारसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत सिद्दार्थनगर बस्ने चिनक भनिने ३४ वर्षीय मेदि हुसेन, सोही ठाउँका ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलि रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट एउटा कटुवा पेस्तोल, के एफ नाइन एमएम लेखिएको २ राउण्ड गोली र चक्कु १ थान फेला पारेको छ । शंका लागेर पछ्याउँदै जाने क्रममा मोटरसाइकलले गोरूलाई ठक्कर दिई दुर्घटना भएको बेला उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
दुर्घटनामा तीनै जना घाइते भएका छन् । उनीहरुको प्रहरीको निगरानीमा मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । उनीहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।