
पाल्पा, उमेरले १९/२० वर्ष पुगेका पाल्पा बगनासकाली गाउँपालिका –८ बराङ्दीका सुशिल बस्याल देश र समाजप्रति चिन्तन, मनन् गर्ने एक युवक हुन् । गीतमार्फत होस् वा कर्म गरेरै किन नहोस् समाज र देशप्रति देखाएको चिन्तन र मनन् प्रष्टै देखिन्छ । केही महिना अघि देशको वास्तविक अवस्थालाई चित्रण गर्दैै ‘राष्ट्रप्रेमी’ नामक देशभक्ति गीत सार्वजनिक गरेका बस्याल अहिले भने समाजलाई कसरी स्वच्छ, सफा र सुन्दर बनाउन सकिन्छ भन्ने अभियानमा जुटेका छन् । उनले समाजलाई स्वच्छ, सुन्दर बनाउन सके नागरिक स्वस्थ हुने र नागरिक स्वस्थ भए समाज र देश स्वस्थ बन्न सक्ने अठोटका साथ समाज स्वच्छ बनाउने दिशामा क्रियाशिल भएका छन् । गाउँमा अधिकांस युवाहरु विदेश पलायन भइरहेको बेला बस्याल भने गाउँमै बसेर समाज र राष्ट्रलाई कसरी सभ्य र स्वच्छ बनाउन सकिन्छ भनि लागेका छन् । अहिले उनले गाउँलाई हरियाली मात्र होइन राष्ट्रप्रतिको माया सबैलाई जगाउन राष्ट्रिय फूल लालीगुराँस रोप्ने अभियान नै चलाएका छन् । बस्यालले एक घर एक लालीगुराँस अभियान अन्र्तगत सबै घर–घरमा पुगेर लालीगुराँसका विरुवा लगाएका छन् । बस्यालले आफ्नो घरबाट सुरु गरेको अभियान अहिले ३५ घरमा पुर्याएका छन् । उनले आफ्नै लगानीमा स्थानीय नर्सरीबाट विरुवा ल्याई लगाएको बताए । केही विरुवा भने स्थानीय व्यक्तिहरुको सहयोगमा ल्याएको उनको बताए ।
बस्यालले बेलौती खर्क टोलका सबै घरमा गुराँसका विरुवा लगाइसकेका छन् । उनले गाउँ भित्रका विद्यालय, वडा कार्यालय र विभिन्न धार्मिक स्थल मठमन्दिरहरुमा समेत लालीगुुराँसका विरुवा रोपेका छन् । बस्यालले यहाँका प्रत्येक घरहरुसँगै बराङ्दी घिउसिवासस्थित सिद्धबाबा मन्दिर,महामृत्युञ्जय शिवासन धाम,बराङ्दी आयुर्वेद औषधालय, म्यालटुप्पामा रहेको शिवालय मन्दिर, बेद माध्यमिक विद्यालय, कालीगण्डकी बोर्डिङ स्कूल र बराङ्दीको वडा कार्यलयमा विरुवा रोपेको एनजेडीलाई बताए । उनले बराङ्दी वडालाई नमूना वडा बनाउनुको साथै समाजलाई देशप्रति समर्पित बनाउन यस्तो अभियान चलाएको बताउँछन् । बस्याल भन्छन् ‘सबैलाई देश र समाजप्रति समर्पित हुनको लागि राष्ट्रिय फुलको महत्व बुझाउन र वडालाई लालीगुराँसको रुपमा विकास गरी पर्यटनको विकास गराउनु अभियानको मुख्य उद्देश्य रहेको छ ।’ उनले गाउँलाई सुन्दर र स्वच्छ बनाउने दायित्व स्थानीय सरकारको समेत भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । बस्यालले भने ‘व्यक्ति एक्लैले गाउँ , समाजलाई सुन्दर र सभ्य बनाउन सम्भव छैन,यसमा स्थानीय सरकारले पनि चासो दिनुपर्छ ।’ उनले यो अभियानलाई निरन्तरता दिन वडा कार्यालयलाई समेत अनुरोध गरेका छन् ।
बस्यालले सञ्चालन गरेको अभियान अत्यन्तै राम्रो भएकाले वडाले त्यसतर्फ ध्यान दिने वडा सदस्य कृष्ण बस्यालले बताए । बस्यालले सञ्चालन गरेको लालीगुराँस रोपण अभियानको सिद्धबाबा मन्दिरका पुजारी हुमराज गैरे,शिवासन धामका महासचिव कृष्ण बस्याल, धामका पुजारी लालप्रसाद पन्थी , बराङ्दी आयुर्बेद औषधालयका प्रमुख सिर्जना के.सी, बेद माध्यमिक विद्यालयका प्रध्यानाध्यापक ठानेश्वर भट्टराई,कालीगण्डकी बोर्डिङ स्कूलका प्रध्यानाध्यापक गणेश बस्याल, बराङ्दी स्वास्थचौकीका स्वास्थकर्मी गोमबहादुर क्षेत्री लगायत स्थानीयहरुले खुलेर प्रशंसा गरेका छन् । बस्याल विभिन्न सामाजिक संघसस्थामा समेत आवद्ध छन् । सोध, खोज, अठोट र नेतृत्व क्षमता भएका उनले दुई महिना अगाडि सार्वजनिक गरेको राष्ट्रप्रेमी गीतमा देश र समाजमा राम्रो गर्ने व्यक्तिहरुको खुट्टा तान्ने प्रवत्तिलाई चित्रण गरेका छन् ।