Shittalpati
लुम्बिनीको नीति तथा कार्यक्रम पारित

लुम्बिनी, लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आइतबारको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

दुई दिनसम्म चलेको छलफलमाथि मुख्यमन्त्री कुलप्रसाद केसीले जवाफ दिएपछि नीति कार्यक्रम पारित भएको छ । उक्त नीति तथा कार्यक्रम प्रदेशसभामा प्रमुख अमिक शेरचनले यही जेठ २५ गते प्रस्तुत गरेका हुन् । सभामा सम्बोधनका क्रममा मुख्यमन्त्री कुलप्रसाद केसीले नीति कार्यक्रम ५ वर्षको अनुभव र आगामी प्रदेशसभाको नेतृत्वले पनि ग्रहण गर्न सक्ने गरी ल्याइएको बताए । उनले नीति, कार्यक्रममा केही विषय छुटेको भए पनि समग्र प्रदेशलाई समृद्धको बाटोमा डोर्याउने गरी सबैको नीति, कार्यक्रम बनाउने प्रयास गरिएको बताए । प्रदेश सरकारको ‘समृद्धि प्रदेश आत्मनिर्भर लुम्बिनी’ को नारालाई यस वर्षको बजेटबाट सम्बोधन गरिने गरी नीति तथा कार्यक्रम ल्याइएको जनाउँदै लुम्बिनी प्रदेशको विकासका लागि एकताबद्ध भएर लाग्न अनुरोध गरे ।

मुख्यमन्त्री केसीले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरकफरक भए पनि लुम्बिनीको विकासमा एक हुनका लागि सबैलाई अपिल गरे । उनले प्रदेशको गौरवको आयोजना, प्रदेश सरकारले शिक्षा, स्वास्थ्य कृषिका क्षेत्रमा लगानी गर्ने जनाउँदै त्यसका लागि प्रदेश सरकार जिम्मेवार भएको बताए । उनले लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी विश्वविद्यालय, प्रदेशको राजधानी लगायतका गौरवका आयोजना र आम जनताको जीवनस्तर माथि उठाउनका लागिसमेत आगामी वर्षको बजेटमा समेट्ने तयारी भइरहेको बताए । प्रतिपक्ष दलले नीति, कार्यक्रम अनुसार बजेट नआउने भन्दै आशंका व्यक्त गरेपछि उनले नीति, कार्यक्रमअनुसार नै बजेट आउने र गत वर्षहरुमा जस्तो पुँजीगत कम र चालु खर्च बढी नहुने प्रतिबद्धता जनाएका हुन् । ‘बजेटले प्रदेशको विषयमा ऐतिहासिक र अन्तिम एकताको सन्देश दिने खालकै हुनेछ,’ उनले भने, ‘चालुको तुलनामा पुँजीगत खर्च नै बढी हुनेछ ।’ सबैको सुझाव र माग बजेटले सम्बोधन गर्ने उनले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update