
पाल्पा, जिल्लामा जडिबुटीजन्य बोटविरुवा विस्तार गर्न छलफल तथा अन्तक्र्रिया गरिएको छ । जिल्ला वन कार्यालयको आयोजनामा जिल्लास्तरीय जडीबुटी फोकल टीम र सरोकारवालाहरुबीच जडिबुटीजन्य बोटबिरुवा विस्तार गर्ने विषयमा बुधबार तानसेनमा छलफल तथा अन्तक्र्रिया गरिएको हो । जिल्लाका वनहरुमा प्रसस्त मात्रमा जडिबुटीजन्य बोटविरुवाहरुको सम्भावना भएकाले ति क्षेत्रमा विस्तार गर्ने उद्देश्यले छलफल कार्यक्रम गरिएको वन कार्यालयले जनाएको छ ।
कार्यक्रममा डिभिजन वन अधिकृत दिपक ज्ञवालीले जिल्लामा रहेका जडिबुटीजन्य बोटबिरुवा र त्यसबाट लाभान्वित किसानका बारेमा जानकारी गराएका थिए । उनले यसवर्ष पाल्पामा दालचिनी, टिमुर, चिउरी, लप्सी र मालागेडी प्रजातिका विरुवाहरु उत्पादन गरी हावापानी र जमिन उपयुक्त रहेका पालिकाहरुमा विस्तार गर्ने योजना रहेको बताए । कार्यक्रममा तानसेन नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सन्तोषलाल श्रेष्ठले किसानको आयआर्जन र वातावरणीय स्वच्छताका लागि जडिबुटीजन्य बोटबिरुवा उपयुक्त माध्यम बन्ने भएकाले तानसेनका ग्रामीण वडामा यसको विस्तार गर्न सकिने बताए । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले ग्रामीण बस्तीका किसानहरुको प्रमुख नगदे वालिका रुपमा रहेको जडिबुटीजन्य प्रजातीका बोटविरुवाहरु विस्तार गर्न आफ्नो पालिका प्रतिवद्ध भएर लाग्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले जडिबुटीजन्य बोटबिरुवाबाट उत्पादित वस्तुहरुको आवश्यक बजार व्यवस्थापन र चिस्यान केन्द्रको व्यवस्थापन गर्न डिभिजन वन कार्यालयले पहल गर्नुपर्ने बताए । डिभिजन वन कार्यालयका प्रमुख दिपक ज्ञवालीको अध्यक्षता, सहायक वन अधिकृत समिर बस्नेतको स्वागत, रेञ्जर यमलाल पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, सामुदायिक वन, निजी वन र सम्बन्धित किसानहरुको सहभागिता रहेको थियो ।