Shittalpati
कालीगण्डकीले ग्याँस चुल्हो लिने, इन्डक्शन चुल्हो दिने

वालिङ, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिका भित्र बसोबास गर्ने झण्डै चार हजार ६ सय घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारेको हो ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका सबै घरधुरीमा विद्युतीय इन्डक्शन चुल्हो वितरण गर्ने पहिलो निर्णय गरेका छन् । गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले भने, ‘घर–घरमा रहेका ग्यासका सिलिण्डर लिने र इन्डक्शन चुल्हो दिने निर्णय गरेका छौं ।’ यसलाई आगामी गाउँसभाबाट पारित गरेर लागू गर्ने उनले बताए । कालीगण्डकीलाई धुँवारहित पालिका बनाउने लक्ष्यका साथ अगाडि बढेको उल्लेख गर्दै उनले विद्यतको प्रयोगमा जोड दिइएको बताए । यसअघि वडा ५ को दलित समुदायमा इन्डक्शन चुल्हो परीक्षणका रूपमा वितरण गरिएको थियो । उक्त कार्यक्रम प्रभावकारी भएसँगै यसपटक पूरै गाउँपालिकाभरि नै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारिएको हो । गाउँपालिकाले विद्युतको पहुँच सबै घरधुरीमा पुर्‍याउन न्यूनतम विद्युतीय महसुल भुक्तानी गर्दै आएको छ । यसअघि पनि गाउँपालिकाले न्यूनतम २० युनिटसम्म विद्युत महसुल निःशुल्क गरेको थियो । –रासस

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update