Shittalpati
पूर्तिघाटका ‘गुलेली मास्टर’नीम श्रीस

जगदीश भट्टराई

गुल्मी (पूर्तिघाट), सुन्दा अचम्म लाग्न सक्छ ‘गुलेली मास्टर’ ! तर अचम्म मान्नुपर्दैन । न उनी गुलेली हान्न सिकाउने शिक्षक हुन् नत पढाउने नै । हुन् त केवल गुलेली बनाउने राम्रा कारिगार । सुदुर गुल्मीको कालीगण्डकी गाउँपालिकाको सामाजिक तथा राजनीतिक क्षेत्रको चिरपरिचत नाम हो ‘गुलेली मास्टर’ अर्थात् नीम श्रीस । पूर्तिघाट निवासी ४० बर्षीय उनी नेपाली काँग्रेस कालीगण्डकी गाउँपालिकाका सभापति समेत हुन् । सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय ‘गुलेली मास्टर’ भाषण गर्ने र कार्याकर्ताबिच पुगेर संगठन गर्ने मात्र होइन, नामजस्तै गुलेली बनाउँने राम्रा कारिगर पनि हुन् ।

श्रीस राजनीति र सामाजिक क्षेत्रबाट बचेको समय गुलेली बनाउनमै खर्चिन्छन् । विहानदेखि साँझसम्म उनीकहाँ गुलेली लिन आउँनेहरुको घुईचो लागिरहन्छ । यहाँ बढी बादरको आतंक हुने भएकाले पनि उनले बनाएका गुलेलीको बढी माग हुने गर्छ । त्यसो हुँदा पनि श्रीस कहाँ गुलेली लिन आउनेको घुइचो लाग्ने गरेको हो ।

यतिबेला खेतबारीमा मकै फल्ने मौसम हो । हरेक वर्ष यो समयमा गुलेलीको माग बढी नै हुने गर्छ । तर श्रीस राजनीतिमा संलग्न भएका कारण स्थानीय तहको निर्वाचनमा व्यस्त हुनुपर्दा यस वर्ष भने माग अनुसार गुलेली विक्री गर्न नसक्ने बताउँछन् । उनी चुनाव प्रचार–प्रसारमा व्यस्त भएकै बेला हाते गुलेलीको अभाव हुन पुग्यो । चुनाव सकिना साथ अहिले उनी फेरी रातदिन गुलेली बनाउँने कार्यमा व्यवस्त छन् । तर पनि विगतमा जस्तो माग अनुसार उत्पादन गर्न नसकिने हुँदा उनी चिन्तित छन् । पार्टीको काम सकेर समय मिल्न साथ गुलेली बनाउँने काममा उनी व्यस्त हुन्छन् ।

यहाँ बादर लाग्ने समस्या भएकै कारण श्रीसले बनाएका गुलेलीले राम्रो बजार पाउने गरेको छ । उनी कहाँबाट लगेका गुलेली देखेपछि मकै खान आएका बादर पनि भाग्ने गरेका कारण उनको हाते उद्योग राम्रोसँग फस्टाएको छ । उनी भन्छन्, ‘फुर्सद भएको बेला दिनमा १० थान जति स्तरीय गुलेली बनाउन सक्छु । प्रति गोटा गुलेली दुई सय सम्ममा विक्री पनि हुन्छ, यसबाट आफ्नो दैनिकी खर्चको जोहो गर्न समेत खासै गाह्रो भएको छैन ।’ राजनीति र सामाजिक क्षेत्रमा अलि बढी व्यस्त हुने हुँदा माग भए जति उत्पादन गर्न नसकेको उनको गुनासो छ । एउटा गुलेली बनाउँदा कति लागत लाग्छ त ? भन्ने एनजेडीको जिज्ञासामा श्रीस भन्छन्,‘२० देखि ५० रुपैयाँसम्म लागत लाग्छ, तर हातको मेहनत र सिप धेरै लाग्ने भएकाले महँगोमा बेच्नुपर्ने परेको हो ।’ उनी गुलेली बेचेर प्रतिमहिना १५ हजार भन्दा धेरै कमाउँछन् । उनले आफ्नो पकेट खर्च त्यहीबाट चलाउँने गरेको बताउँछन् । श्रीस पार्टी संगठन निर्माणमा पनि उत्तिकै सक्रिय छन् । श्रीसले बनाएका गुलेली कृषकलाई बादर धपाउन उपयोगी हुने गरेको छ । कृषकले गुलेलीको प्रयोगबाट बादरलाई हान्ने नभई देखाएर धपाउने गरेका छन् । यहाँ बर्खाको समयमा बादरले कृषकले लगाएको अन्नबालीमा क्षति पु¥याउने गरेको छ । जसका कारण कृषकहरुका लागि गुलेली अन्नबाली जोगाउने गतिलो हतियार बनेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update