.jpg)
सीमा भट्टराई
पाल्पा, मगरी खाना तथा साँस्कृतिक महोत्सव आज तानसेनमा हुन लागेको छ । नेपाल मगर संघ पाल्पाको आयोजनामा तानसेनको टुँडिखेल स्थित लखनपार्कमा खाना तथा साँस्कृतिक महोत्सव हुन लागेको हो । माघे संक्रान्तिको पूर्व सन्ध्यामा मगरी संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका जिल्ला अध्यक्ष तेजबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
बिहीबार साझाँसम्म १२ वटा स्टलहरु दर्ता भईसकेको संघले जनाएको छ । महोत्सवमा मगरी भेषभूषा सहित परम्परागत खाजा तथा खानाको परिकार राखिने छ । खानाको परिकारमा बारा, वाक्से, मगरी मःम, तरुल, सखरखण्डा लगायतका परिकारहरु राखिने नेपाल मगर संघका केन्द्रीय सदस्य तथा आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष केहरसिं रानाले जानकारी दिए ।
उनका अनुसार साँस्कृतिक कार्यक्रम अन्तर्गत कौडा, सालैजो जस्ता मगरी मौलिक संस्कृति झल्कने खालका प्रस्तुतिहरु रहने छन् । माघे संक्रान्ति पर्वलाई राष्ट्रिय पर्वको रुपमा चिनाउन महोत्सव आयोजना गर्न लागिएको संघले जनाएको छ ।