रामचन्द्र रायमाझी
गुल्मी । जिल्लामा रहेका दुई सामुदायिक वनले उपभोक्ताहरूको गरिबी हटाउन आयआर्जनका कार्यक्रम सञ्चालन गरेका छन् । जिल्लाको ईस्मा गाउँपालिका २ (रेनपा ३) मा रहेको ताराखसे सामुदायिक वन र काठेगैरा, सेनिचौर सामुदायिक वनले गरिबी हटाउने कार्यक्रम सञ्चालन गरेपछि विगतमा वन पैदावार चोरीमा संलग्नहरू पनि संरक्षणमा लागेका छन् ।
वन स्थापनाको केही बर्ष वन संरक्षण र व्यवस्थापनको काम गरेका उक्त सामुदायिक वनले पछिल्लो समय गरिबी हटाउने अभियानलाई प्रमुखताका साथ अगाडि बढेका छन् । सामुदायिक वनका ५० प्रतिशत उपभोक्ताहरूको आर्थिक अवस्था कमजोर रहेको छ । विपन्न उपभोक्ताको जीवनस्तर उकास्ने कामसँगै उनीहरुलाई वन संरक्षणमा क्रियाशील बनाउने रणनीति सामुदायिक वनले अख्तियार गरेको हो । उपभोक्ताले वनबाट घाँस, दाउरा, काठको उच्चतम प्रयोग मात्र नभई आयआर्जनका लागि आर्थिक रकम समेत प्राप्त गर्ने गरेका छन् ।
जिल्लाका यि दुई सामुदायिक वनले आय–आर्जनमार्फत उपभोक्ताहरुको जीवनस्तरमा सुधार ल्याउन घुम्तिकोष मार्फत आर्थिक रकम प्रदान गर्दै आएको पाइन्छ । गत वर्ष सामुदायिक वनबाट प्राप्त आम्दानी विपन्न वर्गका उपभोक्ताहरुको आयआर्जनका लागि घुम्ती कोषमार्फत एक सय १३ जना उपभोक्ताहरुलाई ९ लाख ५५ हजार ९ सय ३ रुपैयाँ रकम वितरण गरेका यि सामुदायिक वनले यसवर्ष पनि १ सय १० जना विपन्न उपभोक्ताहरुका लागि ८ लाख ९५ हजार ७ सय ५० रुपैयाँ रकम प्रदान गरेका छन् । सामुदाय वनबाट प्राप्त भएको आम्दानी मध्ये ४० प्रतिशत विकास खर्च, ३५ प्रतिशत विपन्न वर्गको आयआर्जन र २५ प्रतिशत वन संरक्षणका लागि खर्च गर्न पाउने प्रावधान अनुरुप सम्पन्नता स्तरीकरणबाट छनोट भएका घ र ग वर्गका उपभोक्ताहरुलाई उक्त रकम दिइएको सामुदायिक बन उपभोक्ता महासंघ प्रदेश पाँचका महासचिव तथा ताराखसे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राम मल्ल ठकुरीले बताए । उनका अनुसार विकास मार्गदर्शन अन्तर्गत ताराखसे साुमदायिक वनबाट ४ लाख ३५ हजार ३ सय ८० र काठेगैरा सेनिचौर सा.व.बाट ४ लाख ७० हजार ३ सय ७० रुपैयाँ विपन्न वर्गका उपभोक्ताहरुको आयआर्जनका लागि उपलब्ध गराइएको हो ।
उक्त रकम एक वर्षसम्मका लागि उपभोक्ताले चलाउन सक्नेछन् । सामुदायिक वनले आयआर्जनका कार्यक्रम सुरू गरेपछि विहान बेलुका हात मुख जोर्न मुस्किन हुने उपभोक्ताहरुले सहजरुपमा जीवनयापन गरिरहेका छन् । उपभोक्तामुखी कार्यक्रम सञ्चालन गरिरहेका उक्त सामुदायिक वनहरुले १० वर्षभित्र सबै उपभोक्तालाई गरिबीबाट मुक्त गराउने लक्ष्य राखेको सामुदायिक वनका अध्यक्ष मल्लले बताए । हामीले वनलाई व्यवस्थापन गरेर हरियाली बनायौं वनका अध्यक्ष मल्लले भने ‘अब संरक्षणसँगै उपभोक्ताको गरिबी हटाउनुपर्छ भनेर उपभोक्तामुखी कार्यक्रमलाई जोड दिएका छौं ।’ वनले उपझोक्ताको गरिबी घटाउन आर्थिक अवस्था कमजोर भएकालाई आयआर्जनमार्फत् जीविकोपार्जनको माध्यम जुटाउने काम गरेको छ । वनले दिएरको रकमबाट उपभोक्ताहरुले व्यवसायिक रुपमा बाख्रापालन, तरकारी खेती, कुटनी पिसनी मिलहरु सञ्चालन गर्दै आएका छन् । केही उपभोक्ताहरुले बाख्रापालनबाट राम्रै आम्दानी लिन थालिसकेका छन् । गत वर्ष वनबाट रकम लिएकी इस्मा गाउँपालिका २ रातडाँडाकी दुर्गाकला पाण्डेले बाख्रापालनबाटै मनग्य आम्दानी गर्न सफल भएकी छन् ।
उनको आम्दानीको स्रोत केही पनि नभएपछि वनबाट प्राप्त भएको रकमबाट केही बाख्रा खरिद गरी व्यवसायिक बाख्रापालनमा लागेकी हुन् । पाण्डेले भनिन् ‘पहिला जीविकोपार्जनमा समस्या थियो अब भने धेरै राम्रो भएको छ । वनबाट एक वर्षका लागि सहुलियत व्याजमा ऋण ल्याएर त्यही ऋणबाट अहिले बाख्रा पालन गर्दै आएकी हुँ ।’ स्थानीय सुमन्त आचार्यले पनि वनबाट केही रकम ल्याएर बाख्रा पालन गरेका छन् । उनले पनि बाख्राबाटै रामै्र आम्दानी गर्न सफल भएको बताउँछन् । गाउँमै मिल सञ्चालन गरेर आम्दानी गर्ने गरी वनबाट केही रकम निकालेको सामचौर निवासी चन्द्र बहादुर खत्रीले बताए । वनबाट प्राप्त भएको रकमको प्रयोग गरी उपभोक्ताहरुले सहज जीवनयापन गर्न थालेको काठेगैरा, सेनिचौर सामुदायिक वनका उपाध्यक्ष लोकनाथ आचार्यले बताए । उनले सामुदायिक वनले सञ्चालन गरेको कार्यक्रमले एक दशकभित्र उपभोक्ताको गरिबी घटने विश्वास व्यक्त गरे । उक्त सामुदायिक वनको आम्दानीका स्रोतका रुपमा खोटो संकलन काठदाउरा विक्री वितरण रहेको छ । १ सय ६१ हेक्टर क्षेत्रफलमा फैलिएको ताराखसे सा.वन २०५४ साल,१८ हेक्टर क्षेत्रफलमा फैलिएको काठेगैरा सेनिचौर वनलाई २०७१ सालमा जिल्ला वन कार्यालयले समुदायमा हस्तान्तरण गरेको थियो ।