Shittalpati
पाल्पामा शिक्षक सहकारी

रमचन्द्र रायमाझी
पाल्पा, जिल्लामा पहिलो पटक सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले छुट्टै सहकारी सञ्चालनमा ल्याएका छन् । पछिल्लो समय निश्चित मूल्य–मान्यतामा रहेर सदस्यको हितको लागि सहकारीहरु सञ्चालन हुनुपर्नेमा कतिपयले कमजोर व्यवस्थापन र सहकारी भावना विपरीत गएर विवादित बन्नुका साथै भरोसा गुमाउँदै गएका बेला नेपाल शिक्षक संघ पाल्पामा आवद्ध सदस्य शिक्षकहरुले भने सहकारी अभियानमा वैचारिक स्पष्टता र साझा बुझाइका साथ कल्याणकारी शिक्षक बहुउद्देश्य सहकारी सञ्चालनमा ल्याएका हुन् । शिक्षकहरुको पेशागत क्षमताको विकाससँगै आर्थिक रुपमा सवल र सक्षम बनाउने उद्देश्य सहकारीले राखेको छ । सो संस्थामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी मात्र सदस्य बन्न पाउँछन् । यहाँ हाल १ सय ४१ जना सेयर सदस्य रहेका छन् । सुरुमा सहकारीको पुँजी सात लाख रहेको छ । शिक्षकहरुले जिल्लाभर कार्य क्षेत्र रहने गरी गत फागुन १८ गते दर्ता गराई शनिबारदेखि विधिवत रुपमा सहकारी सञ्चालनमा ल्याएका हुन् ।

सहकारीको शनिबार एक औपचारिक कार्यक्रमका बिच समुद्घाटन तथा प्रथम साधारण सभा गरिएको छ । सहकारीको नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेलले उद्घाटन गरेका हुन् । सहकारीको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका पौडेलले पाल्पामा शिक्षक संघले शिक्षकको पेशागत हितसँगै रचनात्मक गतिविधिमा समेत सक्रियता देखाएकोमा संघको प्रशंसा गरे । उनले शिक्षकलाई पेशागत रुपमा सक्षम बनाउन सहकारीको अवधारण ल्याइएको बताए । अध्यक्ष पौडेलले भने,‘शिक्षकहरुको आर्थिक अवस्था अत्यन्त कमजोर हुन्छ, उनीहरुले आफ्ना छोरा, छोरीहरुको विवाह, व्रतबन्धन, पूजा आजा गर्नका लागि पनि गाउँका साहु महाजनबाट ऋण लिनुपर्ने अवस्था छ । त्यसको अन्त्य गर्नका लागि पनि सहकारीको अवधारण ल्याइएको हो ।’ उनले सदस्यता वृद्धि गर्दै लैजान सहकारीलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले शिक्षकहरुले सहकारी सञ्चालन गरेर अनुकरणी कार्य गरेको बताए । उनले हरेक तह र तप्कामा रहेका व्यक्तिहरु उत्पादन, श्रम र रोजगारसँग जोडिनुपर्ने अहिलेको आवश्यकता रहेको औल्याउँदै शिक्षकलाई सवल र सक्षम बनाउन सहकारी महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । सभापति श्रेष्ठले गरिव, विपन्न र असहाय नागरिकको घरदैलोसम्म सेवा प्रवाह गर्न सहकारीलाई आग्रह गरे । शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा रुपन्देहीका अध्यक्ष कूलप्रसाद लामिछानेले सहकारीमार्फत अन्य आर्थिक स्रोतहरुको पहिचान गर्न सहकारीलाई आग्रह गरे । उनले सहकारीले विद्यालय र मिडिया सञ्चालन गर्ने, विद्यालयका लागि आवश्यक शैक्षिक सामग्रीहरु समेत उत्पादन गर्ने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल कर्मचारी युनियन संघका पूर्व केन्द्रीय सदस्य लिला अर्याल, नेपाल सरकारका पूर्व उपसचिव श्रीकृष्ण नेपाल, शिक्षक संघ रुपन्देहीका उपाध्यक्ष रुप कुमार रायमाझी,सदस्य चर्तुभूज रेग्मी, संघका संस्थापक अध्यक्ष मिनबहादुर केसी, संघका पूर्व अध्यक्षहरु लक्ष्मण बस्याल, देविप्रसाद भट्टराई, एन्टो पाल्पाका अध्यक्ष धु्रर्वराज पन्त लगायतले सहकारीको सफलताको शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा संहकारी स्थापनामा सहयोग पुर्‍याउने लिला अर्याल र श्रीकृष्ण नेपालाई सम्मान समेत गरिएको छ । कार्यक्रम संघका अध्यक्ष धनकला गाहाको अध्यक्षता, सहसचिव डिला रानाभाटको स्वागत, सचिव अशोक घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update