Shittalpati
एमालेको नाराबाजीबिच लुम्बिनी प्रदेशसभाको बैंठक

बुटवल, मंगलबार बोइलाइएको लुम्बिनी प्रदेशसभाको बैठक एमालेको नाराबाजीबिच सकिएको छ । प्रदेशसभाको १० औं अधिवेशनका लागि बोलाइएको बैंठकमा प्रतिपक्षी दल एमालेका प्रदेशसभा सदस्यहरु रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । मंगलबार दिउँसो १ बजे प्रदेशसभा बैठक सुरु भए पनि एमालेका प्रदेशसभा सदस्यहरुहरुको अवरोधका कारण दोस्रो बैठक सवा २ बजे सुरु भएको थियो । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सुरु भएको जानकारी गराउनासाथ एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले सूर्य चिह्नबाट चुनाव जितेका अजय शाही र विमला कुमारी खत्रीलाई कारबाही नगर्दासम्म प्रदेशसभा चल्न नदिने बताए । यसलगत्तै नाराबाजीले सभा बिथोलिएपछि सभामुखले पहिलो बैठक स्थगित गरेका थिए ।

बैठकमा दलको तर्फबाट शुभकामना दिँदै माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले एमालेले प्रतिपक्षीको भूमिका खेल्नु साटो अनावश्यक विवाद निम्त्याएर प्रदेशसभालाई बन्धक बनाएको बताए । उनले बजेट अधिवेशनमा पनि एमालेले विरोध गरेर सदन सञ्चालन गर्न नदिनुले प्रदेशसभाप्रति जिम्मेवार नभएको आरोप लगाए । बैठकमा काँग्रेस सचेतक निर्मला क्षेत्रीले बजेट ल्याउने जस्तो विषयमा अवरोध नगर्न एमाले सांसदलाई आग्रह गरिन् । राष्ट्रिय जनमोर्चाकी तारा जीसीले प्रदेशमा निरन्तर अवरोधका कारण केही काम गर्न नसकिएको बताइन् । जसपाकी सदस्य निर्मला मुडभरीले महिला हिंसाका घटना बढिरहेकोले रोक्न आग्रह गरिन् । प्रदेशसभामा प्रदेश खेलकुद विकास परिषद्सम्बन्धी अध्यादेश २०७८ प्रदेशसभामा पेस भएको छ । आउँदो बैठक जेठ १० गते हुनेछ । संविधानत ६ महिनाभन्दा बढी समय संसद बैठकको अन्तर राख्न नपाइने भएपछि बैठक बोलाइएको थियो । प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि साढे ५ महिना यता संसद बैठक स्थगित भएको थियो । संवैधानिक व्यवस्था टार्नका लागि मात्रै बैठक आÞवान गरिएको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update