
रुपन्देही, स्थानीय तह निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २२ हजार ४ सय २१ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार स्थानीय तह नगर प्रमुखमा ४ सय ४ जनाले मनोनयन दर्ता गराएका छन् भने उपप्रमुखमा २ सय ८५ जनाले दर्ता गराएका छन् ।
गाउँपालिकाको अध्यक्ष पदमा ५ सय ४६ र उपाध्यक्ष पदमा ४ सय २० जनाले मनोनयन दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । वडाध्यक्ष पदमा पाँच हजार १ सय २ को मनोनयन परेको छ । महिला सदस्यमा तीन हजार ८ सय ८६, दलित महिला सदस्यमा तीन हजार ६ सय ३ र सदस्यमा आठ हजार १ सय ७५ ले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । आयोगको सूचना अनुसार गुल्मी जिल्लामा एक हजार ३ सय २० ले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी पाल्पामा एक हजार १ सय ८, अर्घाखाँचीमा ८ सय ७२ जना र कपिलवस्तुमा तीन हजार ३२ ले उम्मेदवारी दर्ता गराएका छन् । रुपन्देहीमा पाँच हजार ७४, रुकुम पूर्वमा ३ सय ९७ जना, रोल्पामा एक हजार १ सय ६३ जना, प्युठानमा ९ सय ७१, दाङमा दुई हजार ३ सय ६२ जना र बाँकेमा दुई हजार ३ सय २७ ले उम्मेदवारी दर्ता गराइका छन् । यसैगरी बर्दियामा एक हजार ७ सय ५२ जना र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा दुई हजार ३८ ले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । –रासस