
गुल्मी, गुल्मीको मदाने गाउँपालिका भित्र रहेका खरका झुपडीहरू अहिले जस्तापाताले टल्किएका छन् । गाउँसरकारले खरका झुपडी भएका विपन्न घरधुरीलाई टिनका जस्तापाता वितरण गरेसँगै गाउँ जस्तापाताले टल्किएका छन् । पालिकाले ७ सय २९ वटा फुसका घरलाई जस्तापाता दिएर गाउँपालिकालाई फुसरहित गाउँपालिका घोषणा गरेको छ । अहिले यस क्षेत्रका सबै खरका झुपडीहरू जस्तापाता भएको घरमा परिणत भएका छन् ।
गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका सबैको घर जस्तापाताले छाएसँगै गाउँपालिका फुसको छानारहित गाउँपालिका घोषणा भएको हो । पालिकाभरीका फुसको छानो भएका सबै घरमा अहिले कर्कटपाताले छाइएको छ । केही दिन अघि प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री गोकर्ण बिष्टले खरको छाना मुक्त गाउँपालिका घोषणा गरेका थिए । गाउँपालिकाका कुल ७ सय २९ वटा घरले खरको छाना हटाएर निःशुल्क प्राप्त जस्तापाता लगाएका छन् । गाउँपालिकाको वडा नम्बर १ अग्लु·मा १ सय ४१, वडा नम्बर २ बाँझकटेरीमा १ सय ८०, वडा नम्बर ३ सिर्सेनीमा १ सय ४५ वटा घरले खरको छानो हटाएर जस्तापाता लगाएका छन् ।
त्यस्तै वडा नम्बर ४ म्यालपोखरीमा ३२, वडा नम्बर ५ मलयागिरीमा १ सय ७, वडा नम्बर ६ पुर्काेटदहमा ५२ र वडा नम्बर ७ भनभनेमा ७० वटा घरले खरको छानो हटाएर जस्तापाता लगाएको गाउँपालिकाले जनाएको छ । त्यस्तै गाउँपालिकामा अन्य कार्यक्रमबाट पनि घरहरू निर्माण भएका छन् । एकीकृत वस्ती निर्माण योजनामार्फत १७ वटा, भूकम्प पछि निर्माण भएका निजि निवास १ सय ४१ वटा, सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत १ सय २८ वटा, जनता आवास कार्यक्रम मार्फत ७ र नुमना वस्ती योजना मार्फत ३२ घर गरेर जम्मा १ हजार ५४ वटा घरहरू निर्माण भएको गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले बताए । ‘नागरिकको पीडा आफ्नै सम्झेर निरन्तर जनताको काममा खटिएका छौं’ गाउँपालिकाका अध्यक्ष केसीले भने, ‘जनताको जीविकोपार्जन सँग जोडिने काममा हामी गम्भीर भएर लागेका कारण खरको छाना मुक्त गराउने सफलता हासिल गरेका हौं ।’ गाउँपालिकामा आफूहरुले प्रतिबद्धता गरेअनुरुप काम भइरहेको अध्यक्ष केसीको भनाइ रहेको छ । गाउँपालिकाले खरको छाना मुक्त गर्न कुल २ करोड ८४ लाख ३७ हजार ४ सय २० रुपैयाँ खर्चिएको गाउँपालिका अध्यक्ष केसीले बताए । जसका लागि आर्थिक वर्ष २०७४/०७५ मा १ करोड विनियोजन गरिएको मध्ये ९६ लाख ९२ हजार ७ सय ३८ रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा २५ लाख विनियोजित मध्ये २३ लाख ७८ हजार ६० रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा १ करोड ७५ लाख विनियोजित मध्ये १ करोड ६३ लाख ६६ हजार ६ सय २२ रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।
स्थानीय तहको पहिलो निर्वाचन २०७४ असार २० मा निर्वाचित भएका मदाने गाउँपालिकाका जनप्रतिनिधिहरुले पहिलो औपचारिक कार्यपालिकाको बैठकमा गाउँपालिका भित्र भएका खरका छाना हटाउने निर्णय गरेका थिए । खरको छानो मुक्त बनाउने निर्णय गरिएको ३ वर्षमा गाउँपालिका अन्तर्गतका सबै घरहरू खरका छाना मुक्त गरिएपनि कोरोना महामारीले घोषणा गर्न केही ढिला भएको गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काले बताइन् । ‘गरिब नागरिकका घरहरू गर्मीयाममा आगलागीको डर र बर्षायाममा आकाशे पानी नछेक्ने डरको अन्त्य गर्न सफल भएका छौं ।’ गाउँपालिकाकी उपाध्यक्ष खड्काले भनिन्, ‘बर्ष बित्दा फेरि नयाँ खर फेर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।’ उपाध्यक्ष खड्काले आफूहरूले गरेका प्रतिबद्धता गाउँपालिकामा ९० प्रतिशत पुरा भएको समेत दाबी गरिन् । मदाने खरको छानो मुक्त हुने गुल्मीको दोस्रो स्थानीय तह हो । यस अघि जिल्लाको धुर्काेट गाउँपालिका खरको छाना मुक्त घोषणा भइसकेको छ ।