Shittalpati
ट्रेड युनियन पाल्पाले दियो महिलालाई सिलाईकटाइ तालिम

पाल्पा, सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल ट्रेड युनिन काँग्रेस पाल्पाले महिलाहरुका लागि ३ महिने आधारभूत सिलाईकटाइ तालिम दिएको छ । युनियनले महिलाहरुलाई आयआर्जनसँग जोड्ने उद्देश्यले जिल्लाफको सहयोगमा तालिम दिएको हो । शनिबार एक औपचारिक कार्यक्रमका बिच तालिमको समापन गरिएको छ ।

तालिमको लुम्बिनी प्रदेश सरकारका उर्जा जलश्रोत तथा सिचाई मन्त्री वीर बहादुर रानाले समापन गरेका हुन् । तालिमको समापन गर्दै मन्त्री रानाले महिलाहरुलाई जिवीकोपार्जनसँग जोड्न युनियनले गरेको काम प्रशंसनिय रहेको बताए । उनले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा प्रयोग गरी आत्मनिर्भर बन्न तालिममा सहभागी महिलाहरुलाई आग्रह गरे । मन्त्री रानाले हरेक महिलालाई उत्पादन र रोजगारसँग जोड्नु अहिलेको आवश्यकता रहेको भन्दै प्रदेश सरकारले त्यसतर्फ ध्यान दिएको बताए । नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति समेत रहेका रानाले काँग्रेस पाल्पाले कार्यकर्तालाई रोजगार र उत्पादनसँग जोड्ने योजना अनुसार नीति तथा कार्यक्रम ल्याएको समेत बताए । उनले काँग्रेसका भातृसंस्थाहरुले समेत रोजगार र उत्पादनसँग सम्बन्धित कार्यक्रमहरुलाई पछिल्लो समय पछ्याउदै आएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका उप–सभापति झपेन्द्र गरिहेले महिलाहरुलाई आत्मनिर्भर बन्न सिलाईकटाइ तालिमले ठूलो सहयोग पुग्ने बताए । शिक्षक संघ लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष दीपक ज्ञवालीले चुलोचौकोमा सिमित महिलाहरुका लागि युनियनले तामिल दिएर अनुकरणीय कार्य गरेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव सुनिता अधिकारी, काँग्रेस महासमिति सदस्य राम कार्की, नेपाल पत्रकार महासंघका उपसभापति भरत शर्मा, युनियनका सल्लाहकार चित्रवलीराम सुवाल लगायले आ–आफ्ना धारणा राखेका थिए ।

प्रशिक्षक तुलसा नेपालले तालिम अवधिभर महिलाहरुलाई प्रशिक्षण दिएकी थिइन् । तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको थियो । जिल्लाका एकल महिला, असहाय, विपन्न, गरीब महिलाहरुलाई आत्म– निर्भर बनाउने उद्देश्यले तालिम दिइएको युनियनका सभापति लक्ष्मण रायमाझीले बताए । युनियनका सभापति रायमाझीको अध्यक्षता, उपाध्यक्ष निलकण्ठ देवकोटाको स्वागत,सचिव टुनविर रेश्मीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

यूनियनले विगतदेखि नै श्रमिक, मजदुर वर्गको उत्थानमा सक्रिय गतिविध गर्दै आएको छ । उसले श्रमिकका बालबालिकाहरुको पढाईमा समेत सहयोग गर्दै आएको पाइन्छ । श्रमिक तथा मजदुरहरुको हकअधिकारका लागि आफुहरु चनाखो रहेको युनियनले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update