
कृष्ण पोखरेल
पाल्पा, पढ्ने इच्छा भएका तर आर्थिक अभावबाट बञ्चित छोरीहरुलाई लक्षित गरेर तानसेन नगर सरकारले ‘छोरी शिक्षा’ कार्यक्रम शुरु गरेको छ । दलित, जनजाती, अल्पसंख्यक तथा अन्य समुदायका अधिकाश छात्राहरु आधारभुत तहसम्म अध्ययन गरी सो भन्दा माथि अध्ययन गर्ने हैसियत नभएका, चेतना र गरीवीले पिल्सीएका छोरीहरुलाई लक्षित गरी नगर सरकारले छोरी शिक्षा कार्यक्रम लागु गरेको हो ।
चालु आर्थिक बर्षबाट शुरु भएको कार्यक्रमा कक्षा ८ मा ७० जना, कक्षा ९ मा ७० जना र कक्षा १० मा ७० जना गरी २ सय १० जना छोरीहरुलाई नगर सरकारले छोरी शिक्षा कार्यक्रममा समावेश गरेको छ । उसले १४ वटा वडाहरुबाट पाँच/पाँच जनाका दरले छोरी शिक्षा छात्रबृत्तिको लागि सहयोग गर्दै आएको छ । प्रत्येक वडा–वडाबाट जनजाती २ जना, २ जना दलित र अन्य १ जना गरी ५ जना छोरीहरु छात्रबृत्ति कार्यक्रममा समावेश भएका छन् । नगर सरकारले छोरी शिक्षा छात्रवृत्तिमा सहभागी छात्राहरुलाई अध्ययन तथा शैक्षिक सामग्रीका लागि मासिक रुपमा एक हजार रुपैयाँको दरले रकम सहयोग गरेको छ । उसले इक औपचारिक कार्यक्रमका बिच पहिलो चरणमा छनौट भएका ४७ जना छोरी छात्राहरुलाई ६ महिनाको रकम नगद ६ हजार रुपैयाँ वितरण गरेको छ । नगर सरकारले छोरीको सम्मानमा, छोरीको शिक्षा, रोजागार,असल सभ्य समाज निर्माणका लागि दीर्घकालीन सोचका साथ छोरी शिक्षा कार्यक्रम शुरु गरेको नगर प्रमुख अशोक कुमार शाहीले बताए । छोरी शिक्षा कार्यक्रम लागु गर्ने तानसेन सरकार मुलुककै पहिलो नगरपालिका भएको नगर प्रमुख शाहीले बताए । छात्रवृत्ति पाएका बालवबालिकालाई माथी उठाउन, छात्राहरुको मनोवल उच्च बनाउन छोरीको अविभावक र विद्यालयका शिक्षकहरुलाई जिम्मेवार बनाउन, छात्रवृत्ति वितरण कार्यक्रममा सहभागी बनाएको नगर प्रमुख शाहीले बताए । सामुदायिक विद्यालयलाई माथी उठाउन, प्रोत्साहन गर्न, छोरी शिक्षा कार्यक्रमले महत्वपूर्ण टेवा पुगेको नगर प्रमुख शाहीले विश्वास व्यक्त गरे । मासिक १ हजार रकम सानो देखिए पनि, नगर सरकारले विपन्न परिवारका छोरीहरुको शिक्षामा अविभावकत्व देखाउनु महत्वपूर्ण कदम भएको शाहीले बताए । आगामी दिनमा छोरी शिक्षा कार्यक्रममा, उत्कृष्ट नतिजा ल्याएका छोरीहरुलाई कम्तीमा १० जना छोरीहरुलाई नर्सिङ शिक्षा प्रदान गर्ने गरी सम्झौताको तयारी भईरहको नगर प्रमुख शाहीले बताए । आगामी बर्ष कक्षा १२ सम्म छोरी शिक्षा छात्रबृत्ति कार्यक्रमलाई निरन्तरता दिने तयारीमा लागेको उनको भनाई छ ।
नगर सरकारले दिएको छात्रवृत्ति रकमले हामी जस्ता छोरीहरुमा पढाई प्रति थप हौसल्ला बढेको विद्यार्थी प्रज्ञा भट्टराईले बताईन । आर्थिक अभाव तथा सामाजिक रुढीवादीका कारण आफुले राम्रोसंँग पढ्ने अवसर नपाएको र नगरपालिकाले प्रदान गरेको छात्रवृत्ति कार्यक्रमले छोरीको पढाईमा राम्रै खर्च पुग्ने अविभावक कल्पना पाण्डेले बताईन् । उनले भनिन् ‘छोरी शिक्षा कार्यक्रमले मलाई आत्मबल बढाएको छ, छोरीलाई स्नाकोत्तर तहसम्मको पढाई, समाज परिवर्तनमा लगाउने चाहाना रहेको छ, त्यो चाहाना परा हुनेमा खुसी छु ।’ नगर सरकारले हामी जस्ता दलितका छोरीहरुलाई केन्द्रित गरेर तीन बर्षसम्म लगातार छात्रवृत्तिले परिवारकै भविष्य उज्जवल हुने विश्वास बढेको अविभावक बमबहादुर सुनारले बताए । कार्यक्रममा तानसेन नगरपालिकाकी उप–प्रमुख लक्ष्मीदेवी पाठकले परिवार समाज परिवर्तनमा छोरीहरुको महत्वपूर्ण भुमिका हुने भएकाले दलित जनजातीका छोरीहरुलाई पढाईमा टिकाई राख्न छोरी शिक्षा कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।
मुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डेले छोरी शिक्षा कार्यक्रम देशकै नमुना कार्यक्रम भएकाले कार्यन्वयनको लागि सिङ्गो कर्मचारीतन्त्र सक्रिय भएर लागेको बताए । कार्यक्रममा शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले छोरीहरुको छात्रबृत्तिमा छनौट पक्रिया, नगर सरकारको भूमिका, विद्यालय तथा अविभावकको भूमिकाका बारेमा जानकारी गराएका थिए । शिक्षा अधिकृत कोपिला न्यौपानेले छोरीलाई शिक्षित बनाउन र बढ्दो कक्षा छोड्ने दरलाई हटाउन २०७८ साल देखी छोरी शिक्षा कार्यक्रम लागु गरेको बताईन । कार्यक्रममा दमकडा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन सापकोटा, छनौट समितिका सदस्य तिर्थ गौतम, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद पौडेल, छनौट समितिका सदस्य कृष्ण बहादुर थापा, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना लगायतले छोरी शिक्षा कार्यक्रम नगरपालिकाको उत्कृष्ट कार्यक्रम रहेको बताए । नयाँ आउने जनप्रतिनिधीहरुले पनि यो कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा बक्ताहरुले जोड दिए । शिक्षा शाखाकी श्रोत व्यक्ति लक्ष्मी ढुङ्गानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।