
पाल्पा, अमरनारायण मन्दिर पुनर्निर्माणप्रति विश्व हिन्दु महासंघ पाल्पाले चासो देखाएको छ । मन्दिरको छानो भत्किएपछि महासंघले चासो व्यक्त गर्दै त्यसको पुनर्निर्माण गरिनुपर्ने बताएको हो । तानसेन नगरपालिका २ नारायणस्थानमा रहेको अमर नारायण मन्दिरको दक्षिण र पूर्वतर्फको मध्य भागको छाना सहितको भाग गत बुधबार अकस्मात भत्किएको थियो । धार्मिक परम्परा र संस्कृतिसँग जोडिएको ऐतिहासिक मन्दिरको पुनर्निर्माणमा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्नेमा महासंघले जोड दिएको छ । उसले मन्दिर परिसरमै बैंठक राखी ऐतिहासिक मन्दिर भत्किएकोप्रति चिन्त व्यक्त गर्दै मन्दिरको पुनर्निर्माणमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेको हो ।
संघका वरिष्ठ उपाध्यक्ष होमनाथ न्यौपानेको अध्यक्षतामा बसेको बैंठकले राष्ट्रिय सम्पदा सूचिमा परेको अमरनारायण मन्दिरको अवलोकन गरी पुरातात्विक विभागबाट नाप जाँच गराई यथासिघ्र पुन निर्माणको प्रक्रिया अगाडि बढाउन जिल्ला प्रसासन कार्यालय, नारायणस्थान गुठि संस्थान र स्थानीय सरकारलाई आग्रह गर्ने बताएको छ । बैंठकमा हरि शंकर बस्याल, जयराम सापकोटा, धर्मचन्द्र नेपाल, लक्ष्मण बस्याल, डिला खाती, सूर्य नेपाल लगायतले धार्मिक सम्पदासँग जोडिएको मन्दिर पुनर्निर्माणमा सबैले चासो देखाउनुपर्नेमा जोड दिए । बैंठक महासंघका सचिव कमल पौडेलको सञ्चालनमा भएको थियो ।
अमरनारायण मन्दिर काजी अमरनारायण सिंह थापाले नेपाल अंग्रेज युद्धको समयमा विस १८६३ सालमा निर्माण गरेका थिए । मन्दिरको पूर्व दक्षिण भाग भत्किएर पछी अहिले कुरुप देखिएको छ । करीव ६ बर्ष अघि तानसेन नगरपालिका र पुरातत्व विभागको सहयोगमा मन्दिरको जिर्णाेद्धार गरी गजुरमा सुन लेपन गरिएको थियो । मन्दिरको छानो भत्किए पछी अहिले सर्वसाधारणहरुलाई मन्दिर प्रवेशमा रोक लगाईएको छ ।