Shittalpati
रामपुरबाटै पुनःअवैध बालुवा निकासी गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा

पाल्पा, पछिल्लो समय रामपुरमा अवैध बालुवा निकासी गर्ने सवारी साधन प्रहरी फन्दामा पर्ने गरेका छन् । पुनः रामपुरबाटै अवैध बालुवा निकासी गर्ने एक ट्याक्टर प्रहरी फन्दामा परेको छ । विहिबार प्रहरीले रामपुर–३,निस्दी खोलाबाट लु ४ त ७६८१ नम्वरको ट्याक्टरलाई बालुवा निकालिरहेकै अवस्थामा नियन्त्रणमा लिएको हो ।

मापदण्डविपरीत अबैधानिक रुपमा बालुवा निकालिरहेको अवस्थामा प्रहरी चौकी केलादीको गोस्ती टोलीले ट्याक्टर फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टर नियन्त्रणमा लिई प्रहरीले आवश्यक कारवाहीका लागि रामपुर नगरपालिकालाई बुझाएको छ ।

उक्त क्षेत्रबाट पटक–पटक अबैध रूपमा बालुवा, ढुंगा तथा गिट्टी चोरी निकासी हुँदै आएको छ । अघिल्लो साता मात्र अबैध रूपमा बालुवा चोरी गर्ने पाँचवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी चौकी केलादीले मापदण्ड विपरीत अवैधानिक रुपमा बालुवा निकालिरहेको अवस्थामा लु ४ त ८०६७, लु ३ त ४०४२, लु ३ त ६२६० र लु ३ त ९२३२ र लु ४ त २७९६ नम्बरको ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको थियो । ति ट्याक्टरले रामपुर–२, स्थित निस्दी खोलाबाट अवैध रूपमा स्वीकृत नलिई बालुवा निकासी गर्दै आएका थिए ।

अवैध नदी उत्खननमा रोक लगाइए पनि जिल्लाका अधिकांश ट्याक्टर व्यावसायीहरुले विहान बेलुकाको समय पारेर चोरी निकासी गर्दै आएका छन् । जिल्लाको रामपुर, निस्दी, तिनाउ लगायतका स्थानीय तहका खोलाहरुबाट अवैध रुपमा गिट्टी–बालुवा चोरी निकासी हुँदै आएको छ । तर सम्बन्धित निकायबाट यसको निगरानी हुन नसक्दा चोरी निकासी रोकिन सकेको छैन ।

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update