.jpg)
गुल्मी, गुल्मी जिल्लाको गौरवको रुपमा निर्माण हुँदै आएको रेसुङ्गा विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा १० सिमीचौर स्थित रेसुङ्गा विमानस्थलको नियमित उडानको तयारी हुँदैछ । विमानस्थलको पछिल्लो अवस्था र नियमित उडानका लागि पूर्वमन्त्री प्रदीप ज्ञवाली सहित सरकारी टोलीले निरीक्षण गरेको छ । निर्माणधिन रेसुङ्गा विमानस्थलबाट आगामी बैशाखसम्म उडान गर्ने गरी काम अगाडि बढाइएको छ । निर्माणधिन रेसुङ्गा विमानस्थलका अन्तिम चरणका कामहरु तिब्र रुपमा अगाडि बढेका छन् ।
विमानस्थलबाट छिटो भन्दा छिटो नियमित उडान र पछिल्लो कामको अवस्था बारे जानकारी लिनका लागि पूर्वमन्त्री गुल्मी क्षेत्र नम्बर १ का सांसद प्रदीप ज्ञवाली सहित सरकारी टोलीले निरीक्षण गरेको छ । अहिले विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । टर्मिनल भवन रङ्ग रोगन सहितको काम अबको १५ दिनभित्र सम्पन्न हुने निर्माण व्यवसायी हरिकुमार श्रेष्ठले बताए । विमानस्थल निरीक्षणमा पुगेका ज्ञवाली सहितको सरकारी टोलीलाई रेसुङ्गा नगरपालिका वडा १० का वडाअध्यक्ष पदमप्रसाद अर्यालले विमानस्थलको पछिल्लो अवस्थाको बारेमा जानकारी गराएका थिए । धावन मार्गको कालोपत्रे गर्ने निर्माण व्यवसायीले विभिन्न कारण देखाएर निर्माण कार्यले गति लिन सकेन । तर अहिले भने विमानस्थलका अन्तिम चरण कामहरु सम्पन्न हुने थालेका छन् । जिल्ला जिल्लामा विमानस्थल बनाउ भन्ने लहरको आधारमा विमानस्थल निर्माणको काम अगाडी नबढाएको विमानस्थल निरीक्षणका क्रममा ज्ञवालीले बताए । गुल्मी जिल्लाको भौगोलिक अवस्था, नजिकका शहर पुग्न भोग्नुपर्ने अनेकौं कठिनाईहरु, बढ्दै गइरहेको आर्थिक गतिविधि, स्वास्थ्य उपचार लगायत विभिन्न आपतकालिन अवस्थामा नागरिकको सेवाका लागि विमानस्थल निर्माणको काम अगाडि बढाइएको ज्ञवालीले बताए । विमानस्थलका अन्तिम चरणका कामहरुले गतिलिएसँगै आगामी बैशाखबाट नियमित उडानका गर्ने ठाउँमा पुगेको ज्ञवालीले बताए । उनले नियमित उडानका लागि नागरिक उड्डयन र विभिन्न प्राइभेट एअरलायन्सहरुसँग छलफल गरिरहेको बताए । कतिपय एअरलायन्सहरुले यस्तै विमानस्थलहरुलाई ध्यानमा राखेर नयाँ विमानहरुको खरिदको प्रक्रिया अगाडि बढेको उल्लेख गरे ।
आफैले थालेको काम सबैको जोड बिन्दुबाट अन्तिम चरणमा पुग्दा खुसी लागेको ज्ञवालीले बताए । ज्ञवालीले छिट्टै सुरक्षा समितिबाट निर्णय गरेर सुरक्षाको आवश्यक प्रबन्धका लागि स्थायी रुपमा सुरक्षा व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे । गुल्मेली जनातको सपना जहाज उडोस् भन्ने त्यो छिट्टै साकार हुने विश्वास दिलाए । तम्घास देउरालीबाट विमानस्थलसम्म र विमानस्थलबाट राङवाससम्म पुग्ने मोटरबाटो कालोपत्रे गर्न बजेटको व्यवस्था गरिएको ज्ञवालीले बताए । रेसुङ्गा विमान स्थलमा २०७५ साल जेठ २७ गते परीक्षण उडान पनि गरिएको थियो । तर परीक्षण उडान सफल भएपनि अन्य कामहरु निकै सुस्त गतिमा हुँदै आएको थियो । धावन मार्गको निर्माणको कार्य रौताहा हरि हरि जेभीले ७ करोड ५ लाख रुपैयाँमा गरिरहेको हो । टर्मिनल भवनको ४ करोड ५ लाखमा बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ । विमानस्थलको अन्तिम चरणका कामहरुसँगै व्यवस्थापनको काम अगाडि बढेको रेसुङ्गा विमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए । विमानस्थलको हालसम्म २४ करोड बढी रकम खर्च भएको छ । २०६३ सालमा विमानस्थलको शिलान्यास भएपनि २०७२ साल पछि निर्माणको कामले निरन्तरता पाएको हो । विमानस्थल ५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइमा धावन मार्ग रहेको छ । कुल १ सय ७८ रोपनी जग्गामा विमानस्थलको एरिया छ । जसमध्ये ७८ रोपनी जग्गा व्यक्तिको र बाँकी जग्गा सार्वजनिक रहेको रेसुङ्गा विमानस्थलका सहायक आयोजना प्रमुख परियारले बताए । रेसुङ्गा विमान स्थलका कारण १४ घर विस्थापित भएका थिए । विमानस्थल समयमै सम्पन्न भए गुल्मेली र छिमेकी जिल्लाहरुका नागरिकहरु सदियौंदेखि सिद्धबाबाको जोखिमपूर्ण अवस्था यात्रा गर्नुपर्ने बाध्यता अन्त्य हुने स्थानीयको अपेक्षा गरेका छन् । –अनिल खत्री