
पाल्पा, पाल्पाको तानसेनमा भएको रेग्मीहरूको भेलाले कौशिक गोत्रीय रेग्मी बन्धु समाज पाल्पा शाखाको तदर्थ समिति गठन गरेको छ । बरूण प्रसाद रेग्मीको अध्यक्षतामा भएको भेलाले तदर्थ समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा बरूण रेग्मी, सचिव पुष्कर राज रेग्मी, कोषाध्यक्ष विश्वराज रेग्मी रहेका छन् । सदस्यहरूमा श्रीराम रेग्मी, मञ्जु रेग्मी, योगनाथ रेग्मी र सुदिप रेग्मी सहितको सात सदस्यीय समिति गठन भएको छ । भेलाले तीन सदस्यीय सल्लाहकार समेत चयन गरेको छ । जसमा दुर्गादत्त रेग्मी, शिवहरि रेग्मी र अर्जुन रेग्मी रहेका छन् ।
भेलाको प्रमुख अतिथि तथा समाजका केन्द्रीय अध्यक्ष निल प्रसाद रेग्मीले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दे अध्यक्ष रेग्मीले बझाङको रेगमबाट फैलिएका रेग्मीहरूका वंशजलाई खोजीनिति गरी बृहत् रेग्मी वंशावली तयार पार्न र रेगममा रेग्मी तीर्थ निर्माणको परिकल्पना गरी अभियानको रूपमा समाज अगाडि बढेको बताए । समाजका केन्द्रीय सदस्य सुधिरकुमार रेग्मीले रेग्मीको वंशावलीका विषयमा जानकारी गराउदै रेग्मीबन्धूहरु एकत्रित हुनुपर्नेमा जोड दिए । कार्यक्रममा समाजका केन्द्रीय कोषाध्यक्ष हुमनाथ रेग्मी, सदस्य टिकाराम रेग्मी र केन्द्रीय सदस्य रेगम निवासी तीर्थराज रेग्मी लगायतले बन्धुहरु एक ढिक्का भएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
समाजका पाल्पाका नवर्निवाचित अध्यक्ष रेग्मी तानसेन–३ का वडा अध्यक्ष समेत हुन् । रेग्मीका पूर्वजहरूलाई सम्झदै , सन्ततीहरूलाई संगठित गर्दै गरिन लागेको पुण्य काममा सबै रेग्मीहरूलाई साथ दिन उनले अनुरोध गरेका छन् । तदर्थ समितिले शीघ्र रेग्मी बन्धुहरूको भेला बोलाई समितिलाई पूर्णता दिने, बिधानतः कार्य सम्पादन गर्दै जाने र रेग्मीहरूलाई संगठित गर्दै लैजाने समाजका सचिव पुष्करराज रेग्मीले बताए ।