
गुल्मी, जिल्लामा रहेका महिला उद्यमीहरूको साझा संस्था महिला उद्यमी संघ गुल्मीको अध्यक्षमा निर्मला केसी सर्वसम्मत निर्वाचित भएकी छन् । आइतबार संघको प्रारम्भिक साधारण सभाबाट केसी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।
जसको उपाध्यक्षमा गंगादेवी पाण्डे, सचिवमा जमुना न्यौपाने र कोषाध्यक्षमा श्यामकला भलामीसहित ११ सदस्यीय महिला उद्यमी संघ गठन भएको छ । प्रारम्भीक साधरणसभा कार्यक्रममा तदर्थ समितिकी कोषाध्यक्ष श्यामकला भलामीले कोषाध्यक्षको तर्फबाट अहिलेसम्मको प्रतिवेदन र सचिव जमुना न्यौपानेले अहिलेसम्मको कार्यप्रतिवेदन प्रस्तुत गरेका थिए । साधरणसभामा प्रमुख अतिथि महिला उद्यमी संघ लुम्बिनी प्रदेशकी सदस्य अनिशा केसीले महिलाहरु आत्मनिर्भर बन्न र उद्यमशील बन्न आवश्यक रहेको बताइन् । विभिन्न स्थानीय तहसँग समन्वय गरेर महिलामुखी कामहरू आफूहरुले गरेको भन्दै गुल्मीमा पनि सबै महिला उद्यमी बन्न एकजुट हुनुपर्ने केसीले बताइन् । प्रदेशको तर्फबाट सधैं सहयोग हुने उनले बताइन् ।
संघको कार्यालय रेसुङ्गा नगरपालिका वडा नम्बर ८ मा रहेको छ । संघको प्रारम्भिक साधरण सभाबाट निर्वाचित अध्यक्ष केसीले अब आफूहरुले महिला उद्यमीहरूलाई संघमा आबद्ध गराउदै जाने बताइन् । महिला उद्यमीहरूको हकहितमा एकतावद्ध बनाउनका लागि आफूहरू निरन्तर खटिएको संघकी अध्यक्ष केसीको भनाइ छ । देशभर विस्तार भइसकेको महिला उद्यमी संघ, गुल्मीमा भने अहिले मात्र खुलेको हो ।