
रामचन्द्र रायमाझी
पाल्पा, निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको बेथल इङ्गलिस बोर्डि स्कूलले रजत जयन्ती मनाउदै ‘स्वर्णतिरको यात्रा’ तय गरेको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५३ सालमा स्थापना भएको स्कूलले रजत जयन्ती मनाई स्वर्णतिरको यात्रा तय गरेको हो । बेथलले २५ वर्षको यात्रामा आफुलाई नेपालकै प्रतिष्ठित र उत्कृष्ट शैक्षिक संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । त्यसबेला धेरैले विश्वास नगरेको विषय थियो पाल्पामा निजी स्कूल भोलि राष्ट्रियस्तरमा प्रतिष्ठित र उत्कृष्ट शिक्षा दिने बेथल स्कूलको रूपमा खडा हुनेछ तर धेरैको आकलनलाई गलत सावित गर्दै बेथलले आफ्नो २५ वर्षे यात्रा सम्झ्दै रजत महोत्सव मनायो ।
जिल्लाहरूमा तल्कालिन समयमा अंग्रेजी माध्यममा पढ्न चाहनेहरुका लागि प्राप्त विद्यालयहरु थिएनन् । निजी शैक्षिक संस्थाका रुपमा सीमित स्कुलहरु त खुलेका थिए, तर तिनले समयसापेक्षा शिक्षालाई अगाडि बढाउन सकेका थिएनन् । त्यही परिवेशमा २०५३ सालमा स्थापना भएको बेथललाई शैक्षिक विकासको आधारशिला मान्न सकिन्छ । बेथल स्थापनापछि निजी क्षेत्रबाट थुप्रै स्कूलहरू खुले । स्कूलतहदेखि कक्षा ११/१२ मा व्यवस्थापन संकायको शैक्षिक कार्यक्रम विकासमा यस स्कुलको ठूलो योगदान रह्यो । दुई दशक लामो यात्रामा बेथलले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका पुरस्कारहरु समेत हात पार्यो । उसले विद्यार्थीहरुलाई किताबी ज्ञानमामात्र सिमित नराखी विभिन्न अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाएको छ । प्रयोगात्मक शिक्षालाई अंगाल्दै अगाडि बढेको स्कूलले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका विभिन्न खेलकूदमा विद्यार्थीहरुलाई सहभागी बनाएको छ । यहाँका विद्यार्थीहरु सातौं राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट स्वर्ण पदक, एसियाली खेदकूदलमा कास्य, दक्षिण एसियाली प्रतियोगितामा स्वर्ण, आइ.टी.एफ तेक्वान्डो खेलको राष्ट्रिय प्रतियोगितामा हालसम्म सय भन्दा बढी स्वर्ण, रजतपदहरु सहित राष्ट्रपति कपमा उत्कृष्ट हुन सफल भएका थिए । एसईईदेखि कक्षा ११ को व्यवस्थापन संकायका विद्यार्थीहरुले जिल्ला प्रथम, द्वितिदेखि उत्कृष्ट नतिजा दिन सफल भएका छन् । विभिन्न पुरस्कार र सम्मानबाट पनि स्कुलको २५ वर्षे यात्रा सफल र अब्बल भएको प्रष्ट हुन्छ । निजीस्तरका स्कूलहरु सञ्चालनमा थु्रपै चुनौति भए पनि बेथलले आफूलाई स्वर्णतिरको यात्रामा अगाडि बढाएको छ । सरकारीस्तरबाट होस् वा राजनीतिक स्तरबाट नै किन नहोस् उपेक्षामा परेका कयौं निजी शैक्षिक संस्थाहरु बन्द भएको अवस्थामा बेथलले रजत जयन्ती मनाउनुलाई कम आकलन गर्न सकिदैन । रजत जयन्ती मूल समारोहको अवसरमा आयोजित कार्यक्रममा जिल्लाका राजनीतिक दलदेखि शैक्षिक, सामाजिक, नागरिककर्मी, मानवअधिकारकर्मी, पत्रकारहरुले समेत बेथल स्कूलको २५ वर्षे यात्राको मुक्तकण्ठले प्रशंसा गरे ।
पूर्व उद्योग मन्त्री तथा पाल्पा क्षेत्र नं.२ का प्रतिनिधिसभाका सांसद् सोमप्रसाद पाण्डेले निजी तवरबाट सञ्चालन भएको स्कूलले जिल्लाको शैक्षिक क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले २५ वर्षे लामो यात्रा तय गर्नु स्कूलका लागि चुनौतिको विषय भए पनि आफुलाई सफल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सक्नु नै महत्वपूर्ण रहेको उल्लेख गरे । सांसद पाण्डेले अबको आवश्यकता व्यवसायिक र प्राविधिक भएकाले त्यसतर्फ ध्यान दिन स्कूललाई आग्रह गरे । उनले कोरा शिक्षाले मात्र अब विश्वसँग प्रतिस्पर्धा गर्न नसकिने भन्दै प्राविधिक र व्यवसायिक शिक्षा उपलब्ध गराउने दिशामा सोच्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाही, प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, प्याब्सनका केन्द्रिय सल्लाहकार आशिष श्रेष्ठ, नेपाली काँग्रेस पाल्पाका सभापति हिमाल श्रेष्ठ, नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, प्याब्सन केन्द्रिय सह कोषाध्यक्ष मिनप्रसाद बञ्जाडे, वरिष्ठ पत्रकार मेघराज शर्मा, नेपाल पत्रकार महासंघ पाल्पाका उपसभापति भरत शर्मा, प्याब्सन पाल्पाका उपाध्यक्ष डाँसुराम पन्त, पाल्पा ब्यापार संघका अध्यक्ष चिरञ्जिवी पोखरेल, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष यादव सिं कार्की, नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पाका अध्यक्ष रामप्रसाद ढकाल, स्कूल सञ्चालक समितिका उपाध्यक्ष त्रिलोचन पौड्याल, विद्यार्थी जुरेस अध्यक्ष स्नेहा राना, अभिभावक दिपारानी रेग्मी लगायतले स्कूलले शैक्षिक क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद नेपालले अगामी दिनमा अब्बल जनशक्ति उत्पादन गर्ने दिशामा आफुहरु लाग्ने बताए । नेपालले स्कूलले रजत जयन्ती मात्र होइन स्वर्ण जयन्ती समेत भव्य रुपमा मनाउने उद्घोष गरे । विद्यालयका प्रिन्सिपल खेमबहादुर सारुले सबैको सहयोग र साथका कारण नै स्कुलले रजत जयन्ती मनाउन सफल भएको भन्दै सबैलाई धन्वाद दिए । स्कूलले रजत जयन्तीको अवसरमा शिक्षक, विद्यार्थी, जेष्ठ नागरिक, सञ्चार माध्यम, अक्षकोषदाता, शेयर सदस्यहरुलाई समेत सम्मान गरेको छ ।