Shittalpati
बेथलका पूर्वविद्यार्थी र शिक्षकको पुनर्मिलन

पाल्पा, तानसेनमा रहेको बेथल इङ्गलिस बोेर्डि सेकेण्डरी स्कुलका पूर्व विद्यार्थी र शिक्षकहरुबिच पूनर्मिलन भएको छ । स्कुलले २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा पूर्व विद्यार्थी र शिक्षकहरुबिच पूनर्मिलन गराएको हो । विगतमा स्कुलमा अध्ययन गरी अध्ययन र रोजगारको शिलशिलामा बाहिर रहेका विद्यार्थी र लामो समय स्कूलमा अध्यापन गराई बाहिर रहेका शिक्षकहरु र हालका शिक्षक–विद्यार्थीहरु बिच पुनर्मिलन भएको छ ।

पूर्वविद्यार्थी, शिक्षकहरुको सम्बन्धलाई स्कुलसँग थप नजिक बनाउन र भावनात्मक सम्बन्ध कायम राख्न पुनर्मिलन कार्यक्रम आयोजना गरिएको स्कुलका प्रिसिन्सल खेमबहादुर सारुले बताए । पुनर्मिलन कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद नेपालले पूर्वविद्यार्थी र शिक्षकहरुलाई पुनर्मिलन गराउन पाउँदा अत्यन्त उत्साहित भएको बताए । उनले आफ्नो विद्यालयबाट सफल भई उच्च शिक्षा हासिल गर्न स्वदेश तथा विदेशमा रहेका विद्यार्थीहरुले विज्ञान, वाणिज्य शास्त्र र अन्य प्राविधिक विषयमा अब्बल नतिजा दिएको देख्दा र सुन्दा सुखी लागेको बताए । अध्यक्ष नेपालले विद्यार्थीहरु मात्र होइन विद्यालयमा अध्यापन गराएका शिक्षकहरु समेत उच्च पदमा रहेको देख्दा विद्यालय र आफुहरु गौरभान्वित भएको धारणा व्यक्त गरे ।

स्कुलका सहायक प्रिन्सिपल महेन्द्रकुमार पोखरेलले विद्यालय शिक्षा बेरोजगार जनशक्ति उत्पादन गर्ने साधन नभई पूर्ण रोजगारमूलक र असल नागरिक उत्पादन गर्ने साधन हुनुपर्नेमा जोड दिए । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उपप्राध्यापक तथा पूर्वशिक्षक महेन्द्रकुमार पन्थीले जिल्लामा निजी तथा सामुदायिक विद्यालयहरु गुणस्तरी शिक्षा प्रदान गर्ने दिशामा अब्बल बन्दै गएको बताए । उनले अब गुणस्तरी र प्राविधिक शिक्षाका लागि बाहिर धाउनुपर्ने बाध्यता नीजि तथा सामुदायिक विद्यालयहरुले हल गरेकाले यही नै अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गरे । कार्यक्रममा अक्षयकोषदाता तथा पूर्व शिक्षक सविता भट्टराई, बेथल स्कुलका दिलबहादुर बराल, पूर्वविद्यार्थीहरु शितल बिरकट्टा, दिलिप बराल लगायतले आफ्ना धारणा राखेका थिए । स्कुलमा अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थी–शिक्षकहरुबाट सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे । भूपू विद्यार्थी समाजका सचिव लिनिशा गाहाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update