
गुल्मी, मालिका गाउँपालिकामा घर–घरमा डिजिटल परिचयपत्र बन्ने भएका छन् । गाउँपालिकाको भिलेज प्रोफाइल कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक घर–घरमा डिजिटल परिचयपत्र बन्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए । भिलेज प्रोफाइल अन्तर्गत घर–घरमा डिजिटल घर नम्बर कायम गरिने छ । जसबाट सबै प्रकारका तथ्यांक हेर्न सकिने गरेर परिचयपत्र बनाउन लागिएको हो ।
परिचयपत्रमा प्रत्येक घरको आर्थिक, सामाजिक र पारिवारिक तथा अन्य सबै प्रकारका २ सय ४७ प्रश्नको उत्तर संकलन गरिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए । अब लगत्तै गाउँपालिका अन्तर्गतका कर्मचारीहरुले घर–घरमा गएर तथ्यांक संकलन गर्ने छन् । डिजिटल परिचयपत्रले योजनाहरुको कार्यान्वयनमा सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ । गाउँपालिकाले अनुमानित ५ लाखको लगानीमा परिचयपत्रको माध्यमबाट गाउँपालिका भित्र बसोबास गर्ने सबै नागरिकको अवस्था बुझ्न सकिने बनाउन लागेको हो । गाउँपालिकाले यस कार्यक्रममा खटिने कर्मचारीलाई अभिमुखिकरण गर्न सुरु गरेको छ । अब सोमबार र मंगलबार परिचयपत्र बनाउन खटिने कर्मचारीलाई तालिम दिइने गाउँपालिकाले जनाएको छ ।