
पाल्पा, बेथल बोर्डिङ स्कूलमा सञ्चालित बेथल जुनियर रेडक्रस सर्कलले जिल्लाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल झोला सहित शैक्षिक सामग्री दिएको छ । रेडक्रसले विद्यालयको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा तानसेन नगरपालिका –१३, बोटेगाँउ, छेर्लुङमा रहेको राधाकृष्ण प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कूल झोला सहित शैक्षिक सामग्री दिएको हो । रेडक्रसमा सम्वद्ध विद्यार्थीहरुले विद्यालयमा अध्ययनरत ४९ जना विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
बेथल बोर्डिङ स्कूलका विद्यार्थीहरुले खाने खाजाबाट कटाएर केही रकम गरेको बचत र विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुबाट उठाएको सहयोग रकमबाट उक्त सामग्री सहयोग गरिएको जुरेसका अध्यक्ष स्नेहा रानाले बताइन् । राधाकृष्ण प्रा.वि.का व्यवस्थापन समितिका अध्यक्ष रेवन्तबहादुर पिसिले विद्यार्थीहरुले आफुले खाने खाजाबाट कटाएर जम्मा गरेको पैसाले ग्रामीण भेगका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित झोला सहयोग गरेर विद्यार्थीहरुले अनुकरणीय काम गरेको बताए । उनले सदरमुकामदेखि टाढा रहेको र बहुसंख्यक विद्यार्थी बोटे समुदायका नै भएकाले यो उनीहरुका लागि महत्वपूर्ण हुने भन्दै सहयोगी जुरेसमा आवद्घ विद्यार्थीहरुलाई धन्यवाद दिए । विद्यार्थीहरुको सहयोगले यहाँका विद्यार्थीहरुलाई मात्र नभई सामुदायिक र संस्थागत विद्यालयहरु बीचको सम्बन्धलाई थप मजबूद बनाउने विश्वास अध्यक्ष पिसीले व्यक्त गरे । बेथल बोर्डिङ स्कूलका प्रिन्सिपल तथा जुरेसका संरक्षक खेमबहादुर सारुले विद्यार्थीहरुको सहानुभूतिको सोचबाट नभई शैक्षिक उन्नायनमा सामुदायिक र संस्थागतका विद्यालयहरु एक ठाउँमा उभिने अभिप्रायले सहयोग गरिएको बताए । उनले आगमी दिनमा पनि दुवै क्षेत्रका विद्यालयहरुको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोगी हातहरु अगाडि बढाईने बताए । कार्यक्रममा शिक्षक महासंघ पाल्पाका पूर्व अध्यक्ष देवीप्रसाद भट्टराई, तानसेन १३ का वडा सदस्य राधा बि.क., विद्यालयका पूर्व अध्यक्ष खड्कबहादुर केसी, समाजसेवी लिलाराज भट्टराई, अभिभावक तथा निगरानी समूहका अध्यक्ष शर्मिला केसी सहायक प्र.अ.अच्छुत भट्टराई लगायतले दुरदराजमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुप्रति बेथल स्कुल र जुनियर रेडक्रस सर्कलले देखाएको सहयोग अत्यन्त प्रशंसनिय र अनुरकरणीय रहेको बताए । सर्कलका अध्यक्ष स्नेहा रानाको अध्यक्षता, उपाध्यक्ष बिरिश सारुको स्वागत, सचिव नितेश दर्लामीको सञ्चालनमा कार्यक्रम भएको थियो ।