Shittalpati
भूमि सम्बन्धी समस्या समाधान गर्न माथागढी गर्‍यो आयोगसँग समझदारी

पाल्पा, जग्गा विहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि पाल्पाको माथागढी गाउँपालिकाले भूमि सम्बन्धी समस्या समाधान आयोगसँग समझदारी गरेको छ । गाउँपालिका भित्र भएका भूमिहिन दलित, सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने सम्बन्धमा आयोगका अध्यक्ष केशव निरौला र माथागढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापा बिच समझदारी भएको हो ।

आयोगको कार्यालय काठमाडौंमा आयोगका अध्यक्ष निरौला र गाउँपालिकाका अध्यक्ष थापाले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास व्यवस्थापन गर्ने विषयको समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारीसँगै गाउँपालिकाले तत्काल भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापनको प्रक्रिया अगाडि बढाइने गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

समझदारी पत्रमा हस्ताक्षरपछि आयोगका अध्यक्ष निरौलाले तत्काल जनताको हातमा जग्गाधनी पुर्जा पुग्ने गरी काम गर्न आग्रह गरे छन् । उनले सम्झौता भएका स्थानीय निकायहरुले सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुको तथ्याङ्क संकलन गरी आयोगमा बुझाउन तथा लाल पुर्जा वितरणका लागि आयोगलाई सहयोग गर्ने काममा तदारुकता देखाउन पनि आग्रह गरेका छन् । भूमि सम्बन्धी समस्या समाधानका लागि विगतमा आयोगहरु गठन हुन तर काम नगर्दै विगठन हुने परम्पराले गर्दा अझै धेरै नागरिकहरु लालपूर्जा र व्यवस्थित बसोवास गर्नबाट बञ्चित भएका छन् । माथागढी गाउँपालिकामा पनि धेरै नागरिक अव्यवस्थित र भूमिहिन अवस्थामा रहेको गाउँपालिका अध्यक्ष थापाले बताए । उनले गत वर्ष केही वडाहरुमा लगत संकलन गर्ने काम गरे पनि अयोगको अनिश्चितताका कारण काम बिचैमा रोक्नु परेको बताए । उनले भने ‘अब आयोगसँग समझदारी भएको छ, हामी छिटो भन्दा छिटो काम अगाडि बढाई भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समधान गछौं ।’ आयोसँग समझदारी गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली र गाउँपालिकाका शिक्षा कार्यक्रम संयोजक अशेष भट्टराई समेत काठमाडौं पुगेका थिए ।

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update