
पाल्पा, जिल्लाको माथागढी गाउँपालिका–२ रुप्सेमा रहेको बुद्धि विकास प्राथामिक विद्यालयले वार्षिकोत्सव मनाएको छ । विद्यालयले एक औपचारिक कार्यक्रमका बीच ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सवको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले उद्घाटन गरेकी हुन् । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री घर्तीले गुणस्तरी र प्राविधिक शिक्षा प्रदान गर्दै जान विद्यालयलाई आग्रह गरिन् । उनले शिक्षा नै पहिलो जनशक्ति उत्पादन गर्ने थलो भएकाले शिक्षा क्षेत्रमा प्रदेश सरकारले सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरिन् । मन्त्री घर्तीले शिक्षक हरेक दिन विद्यार्थी बने मात्र गुणस्तीय शिक्षा प्रदान गर्न सकिने बताइन् । उनले विद्यालयमा खेल मैदानको आवश्यक रहेकाले प्रदेश सरकारबाट आवश्यक पहल गर्ने बताइन् ।
कार्यक्रममा माथागढी गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईले शिक्षाको गुणस्तर सुधार गर्नका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले विद्यालयको भौतिक सुधारले मात्र नहुने भन्दै शैक्षिक उपलब्धी पनि आम नागरिकले देखिने गरी हुनुपर्नेमा जोड दिइन् । उपाध्यक्ष भट्टराईले गाउँपालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्नमा गाउँपालिकाले समेत कार्यक्रम तथा योजना ल्याएको बताइन् । उनले विद्यालय शिक्षा सुधारका लागि बेला बेलामा शिक्षकहरुलाई तालिम समेत दिइदै आइएको बताइन् । दिब्य ज्योतिका प्रअ नारायणप्रसाद अधिकारीले विद्यालले विद्यार्थीलाई विद्यालय शिक्षासँगै संस्कारको विषयमा समेत सिकाउनुपर्ने बताए । उनले विद्यार्थीको मनोभावना बुझेर घोकन्ते विद्याभन्दा पनि व्यावहारिक शिक्षामा दिनुपर्नेमा जोड दिए । कर्णधार माविका शिक्षक राजन अधिकारीले माथागढी २ रुप्सेमा तीन ओटा विद्यालय रहेको र तिनओटै विद्यालयलाई एकै ठाउँमा मिलाएर लैजान सकेमा नमुना विद्यालय बनाउन सकिने धारणा व्यक्त गरे । कार्यक्रममा विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । विद्यालयका प्रअ कमलादेवी ढकालले २८ लाख बराबरको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर घर्तीको अध्यक्षता, शिक्षिक मनोहर ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।