
पाल्पा, जिल्ला अदालत पाल्पाले महिला हत्याको आरोपमा चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतले बुधबार तानसेन–६ कुनसरे स्थित स्कुल डाँडाकी ६५ वर्षीया सरस्वती घर्ती मगरको हत्यामा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
महिला हत्याका आरोपी तानसेन–६ का ४२ वर्षीय कमलबहादुर घर्ती थापा, तानसेन–७, का ३१ वर्षीय विजय परियार, रिब्दीकोट–४, घरभई हाल तानसेन–६ मा बस्दै आएका २३ वर्षीय हरि सुनार र बगनासकाली–६, घरभई हाल तानसेन–६, बस्दै आएका २७ वर्षीय सुनिल परियारलाई पुर्पक्षका लागि जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुले घर्तीलाई गत पुस २३ घर नजिकैको जंगलमा रगताम्य अवस्थामा छाडेर फरार रहेका थिए । अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालयले चारै जना प्रतिवादीहरुलाई पक्राउ गरेको थियो ।