
हाम्रा संवाददाता
पाल्पा, लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । कपिलवस्तु, बर्दिया, रुपन्देही र बाँकेमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको हो । रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षले सोमबार प्रकाशित गरेको नियमित बुलेटीनमा उल्लेख भए अनुसार रुपन्देहीको कञ्चन गाउँपालिका–३ हरैयाका २६ वर्षीया चमेली थापाको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा पानी चलाउने नल्कामा जडान भएको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका–३ ववनीस्थित सडकमा मोटरसाईकल र स्कुटर एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । लु.३२ प ४७८० नम्बरको मोटरसाइकल र प्रदेश २–०३–०२१ प ९६०२ नम्बर स्कुटर एक–आपसमा ठक्कर खाई दुर्घटना हुन जाँदा आइतबार मोटरसाइकल चालक वाणगंगा नगरपालिका–८ का २५ वर्षीय नमु पौडेलको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका पौडेलको एमण्ड सिटि अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र स्कुटरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको बुलेटिनमा जनाइएको छ ।
यस्तै बर्दिया, बारबर्दिया नगरपालिका–८ रम्बापुरस्थित सडकमा जेसिबी र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । रोकी राखेको अनटेष्ट लेखिएको जेसिबीमा कर्णाली प्रदेश २–००१ प २४६१ नम्बरको मोटरसाइकल आइतबार साँझ ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार ठाकुरबाबा नगरपालिका–९ का २३ वर्षीय धन बहादुर चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको केन्दीय प्रहरी समाचार कक्षले जनाएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । जेसिबी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उता बाँकेमा डुबेर एक जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–४ मुनिजर पुरुवास्थित चाँद इँटा भट्टा नजिकै पानी जम्मा हुने खाल्डोमा डुबेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भारत पुरम्पुर घर भई सोही इँटा भट्टामा काम गर्ने जाहीद साहको छोरी १ वर्षीया सबिना साह रहेको केन्द्रीय प्रहरी समाचार कक्षको नियमित बुलेटीनमा जनाइएको छ ।