
कृष्ण पोखरेल
पाल्पा, तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले महिला क्षमतावान भए विकासमा अग्रणी भूमिका खेल्न सक्ने बताएका छन् । मखनटोल टोल विकास संस्थाको आयोजना, तानपा ४ वडा कार्यालयको सहयोगमा सञ्चालन भएको एकहप्ते उद्घोषण तथा नेतृत्व विकास तालिमको उद्घाटन गर्दै नगरप्रमुख शाहीले महिला क्षमतावान भए आफ्ना कुराहरु बाहिर निर्धक्क राख्न सक्ने र समाजको विकासमा अग्रणी भूमिका खेल्ने बताएका हुन् ।
महिलाहरुको क्षमता अभिवृद्धिका लागि नगरपालिकाले विशेष कार्यक्रमलाई प्राथमिकता दिदै आएको उनले जानकारी दिए । महिलाहरुसँग प्रशस्त क्षमता छ, सबैको कुरा ज्ञान भएपनि सिलसिलावद्ध तरिकाबाट बाहिर प्रस्तुत गराएर समाजको विकासमा अग्रस्थान ल्याउन क्षमता अभिवृद्धि जस्ता कार्यक्रमलाई नगरपालिकाले सहयोग गरेको नगरप्रमुख शाहीले बताए । कार्यक्रममा ४ का वडा अध्यक्ष राजेन्द्रमुनी शाक्यले भौतिक पूर्वाधार विकासले मात्र समाज विकास नहुने भएकाले महिलाको क्षमता अभिवृद्धिका लागि यो कार्यक्रम सञ्चालन गरिएको बताए ।
तानसेन पर्यटकीय क्षेत्र भएकाले आगामी दिनमा पर्यटकहरुलाई लक्षित गरी टुरिष्ट गाईड र अंग्रेजी भाषा शिक्षण कार्यक्रम समेत सञ्चालन गरिने वडा अध्यक्ष शाक्यले बताए । कार्यक्रममा पत्रकार महासंघका सचिव किरण कौशलले महिलाहरुको प्रतिभा बाहिर ल्याउन पनि उद्घोषणकला जरुरी भएको बताए । जो महिला राम्रोसँग बोल्न सक्छ उ कहिले पनि पछाडी नपर्ने बताउँदै सचिव कौशलले निर्धक्क भएर आफ्ना कुरा बाहिर ल्याउन महिलाहरुलाई अनुरोध गरे । तालिममा वडा ४ का १३ वटा टोलविकास संस्थाका ५० जना महिलाहरुको सहभागिता रहेको छ । तालिममा कृष्ण गहतराज, किरण कौशल, भरत आचार्य, कृष्ण पोखरेल लगायतले सहजीकरण गरेका छन् । मखनटोल टोल विकास संस्थाकी अध्यक्ष प्रविता शाक्यको अध्यक्षता, कोषाध्यक्ष बविता शाक्यको स्वागत र संस्थाकी सचिव प्रमिला कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।