Shittalpati
भैंसीपालनबाट मनग्य आम्दानी गर्दै अर्याल

तोलाकान्त बगाले
वालिङ, स्याङ्जाको वालिङ नगरपालिका–१ त्रियासीकी सीता अर्यालले १५ वर्षदेखि भैंसीपालन गर्दै आएकी छन् । दुई भैंसी पालनबाट व्यवसाय थालेकी उनले गतवर्ष ‘सीता कृषि पशुपालन फर्म’ दर्ता गरी आठ भैंसी पाल्दै आएकी छन् ।

‘सुरुमा दुई भैंसीबाट व्यवसाय सुरु गरेकी हुँ’, उनले भनिन्, ‘भैंसीको दूध विक्रीबाट आम्दानी भएको पैसालाई फर्ममा थप गर्नुका साथै भैंसीको पनि संख्या थप गरेकी हुँ ।’ उनका फर्ममा अहिले आठ दुहुना भैंसी छन् । दुई थपेर दश पुर्‍याउने तयारीमा उनी छन् । ‘आफ्नै सुरले भैंसी पाल्दै आएकी थिएँ, महिलाले सञ्चालन गरेको फर्मलाई केही सुविधा हुन्छ भन्ने सुनेर फर्म दर्ता गरेर चलाएकी हुँ’, उनले भने, ‘म एक्लैले भैंसी पाल्न थालेपछि गाउँलेले नसक्ने काम किन गरेकी होला ? भन्थे आज मेरो सफलता देखेर ठीक व्यवसाय हैछ भन्न थालेका छन् ।’ कतिपय महिला दिदीबहिनी गफ लाएर कुराकानी गरेरै समय बिताउने गरे पनि आफूलाई भने गफ लाउन र कसैको जान नि फुर्सद नहुने उनी बताउँछिन् । श्रीमान्, दुई छोरीहरु विदेश र छोराले पनि पढ्दै जागीर गर्ने गरेको उनले सुनाइन् । ‘श्रीमानले भैंसी पाल्न दुःख हुन्छ, सकिँदैन नपाल भनेर गाली गर्नुहुन्छ’, व्यवसायी अर्यालले भने, ‘आफूले पैसा कमाउन सके आँफै बलियो भइने, आत्मनिर्भर हुनुका साथै सन्तुष्टि मिल्ने भएकाले पनि व्यावसायिकरुपमा भैंसी पाल्दै आएकी हुँ ।’

श्रीमान् विदेश जानासाथै छोराछोरी लिएर सहर पस्ने र बसेरै खाने परिपाटी नेपाली ग्रामीण समाजमा बढ्दै गइरहेका बेला उनी नमूना महिला हुन् । आफैँले कमाएको पैसाले घर खर्च चलाउनुका साथै भैंसी खरीद, घाँस, दाना खरिदसँगै केही रकम बचत गर्दै आएको उनले बताइन् । ‘कुनै पनि काम सानो ठूलो हुँदैन, तर जुन काम गरिन्छ त्यसमा ध्यान दिएर मेहेनतका साथ गर्नुपर्छ तबमात्रै सफल भइन्छ’, उनले भने, ‘मैले कमाएको पैसाले घरखर्च सहित अन्य खर्च तथा लगानी गरेकी छु, श्रीमानले विदेशबाट पठाएको पैसाजस्ताको तस्तै राखिदिएकी छु, चलाउनुपरेको छैन ।’ उनले हालसम्म १५ लाख लगानी गरेकी छन् । दूध, घ्यू तथा मल विक्रीबाट मासिक एक लाख बढी आम्दानी गर्छिन् । उनको फर्मबाट उत्पादन भएको दूध नजिकैको त्रियासी बजार तथा वालिङमा खपत हुने गरेको छ । दैनिक ४० लिटर दूध उत्पादन हुने गरेको छ भने प्रतिलिटर दूध ७० देखि ९० रूपैयाँ सम्म विक्री हुन्छ । –रासस

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update