हाम्रा संवाददाता
पाल्पा, नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्रीको अन्तिम मतपरिणाम आएको छ । बिहीबार प्राप्त मतपरिणाम अनुसार नेपाली काँग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरुङ र महामन्त्रीमा विश्वप्रकाश शर्मा, गगन थापा निर्वाचित भएका छन् । उपसभापतिको मतगणनामा अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै खड्का र गुरुङ विजयी भएका हुन् । उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदार झिनो मत अन्तरले पराजित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार खड्का दुई एक सय २१ र गुरुङ एक हजार ९ सय ८ मत ल्याएर विजयी भएका हुन् । गच्छदार २ मतले धनराजसँग पराजित भएका छन् । उनले १ हजार ९ सय ६ मत प्राप्त गरेका थिए ।
त्यसैगरी चन्द्र भण्डारीले एक हजार ५ सय ८० मत पाए । उपसभापति पदका उम्मेदवार महेश आचार्य, सुजाता कोइराला र दिव्यश्वरी शाह ठूलो मत अन्तरले पराजित भएका छन् । यस्तै नेपाली काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा निर्वाचित भएका छन् । गगन थापा शेखर कोइराला प्यानलबाट र विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा विजयी भएका हुन् । कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी मत ल्याएका छन् । उनले ३ हजार २३ मत र शर्माले १९ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार ४३ मत वदर भएको छ । कुल ४ हजार ६ सय ८२ मत खसेको थियो । गगनले भने सुरुवाती चरणदेखि नै अग्रता लिएका थिए । शर्मा र प्रकाशशरण महतबीच भने कडा प्रतिष्पर्धा भएको थियो । महामन्त्रीका उम्मेदवार प्रकाशशरण महतले १५ सय ५६, प्रदिप पौडेलले १३ सय ९३, डा.मिनेन्द्र रिजालले ८ सय ९ मत प्राप्त गरे ।
यस्तै, महामन्त्रीका अर्का उम्मेद्वार राजारामले १ सय ७ मत पाए । महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा प्रतिष्पर्धा उत्रिएका थिए । डा.राजाराम कार्कीले महामन्त्रीमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । काँग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । काँग्रेसको १४ महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेद्वारी दिएका थिए । यसअघि सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् ।
को हुन् पूर्णबहादुर खड्का ?
२०१० सुर्खेतमा जन्मिएका खड्काले २०३१ सालबाट राजनीतिक यात्रा सुरु गरेका थिए । खड्का २०३४ सालमा सुर्खेत काँग्रेसको सभापति भएका उनी त्यतिबेला जम्मा २४ वर्षका थिए । पञ्चायतकालको प्रतिबन्धित अवस्थामा उनी निरन्तर राजनीतिमा सक्रिय रहे । उनी नेपाल विद्यार्थी संघमा केन्द्रीय सदस्य हुँदै उपसभापतिसम्म भए । २०३६ सालमा खड्का सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर निर्वाचित भए । विभिन्न समयमा गरेर पाँच महिनाभन्दा बढी जेलजीवन बिताएका खड्का सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट चार पटक सांसदमा विजयी बने भने एकपटक पराजित भए । २०७० सालमा भएको चुनाव जितेका खड्का २०७४ सालको संसदीय चुनावमा भने पराजित भएका थिए । खड्कासँग गृह, युवा तथा खेलकुद (दुई पटक), सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्रीका रूपमा जिम्मेवारी निभाएको अनुभव छ । १४ औं महाधिवेशनमा उनी काँग्रेसको निर्वाचित पहिलो उपसभापति बन्न सफल भएका छन् ।
को हुन् धनराज गुरुङ ?
२०२२ सालमा स्याङ्जामा जन्मिएका धनराज गुरुङ २०३६ सालबाट राजनीतिमा प्रवेश गरेका थिए । ०३८ मा नेविसंघ धवथुम मावि स्याङ्जाको स्कुल इकाइ सभापति भएका उनी २०४० मा नेविसंघ स्याङ्जाको जिल्ला सचिव भए । उनी ०४३ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु उपसभापितमा पराजित भए । पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापतिमा पनि पराजित भएका उनी ०४८ मा काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए । लगत्तै उनी नेविसंघको केन्द्रीय राजनीतिमा प्रवेश गरे । ०४८ मा उनी नेविसंघको केन्द्रीय उपसभापति भए भने ०५३ मा केन्द्रीय सभापति बने । नेविसंघपछि गुरुङलाई तरुण दलमा पनि राजनीति गर्ने अवसर मिल्यो ।०५४ सालमा उनी तरुण दलको महासचिव भए । गुरुङ २०५४ सालमा तरुण दलका महासचिव र त्यसपछि काँग्रेस स्याङ्जा जिल्ला कार्यसमिति सदस्य भएका थिए । उनी नेपाली काँग्रेस स्याङ्जा जिल्ला उपसभापति समेत भए । ०७० मा उनी समानुपातिक सांसद भएका थिए ।
को हुन् गगन थापा ?
२०३३ सालमा काठमाडौंमा जन्मिएका गगन थापा २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर विद्यार्थी राजनीतिमा लागेका हुन् । त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि उनी विद्यार्थी राजनीतिमा लागेका हुन् । विसं २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि उनले राजनीतिमै सक्रिय हुने अठोट गरे । स्ववियुमा सदस्य सचिव हुँदै सभापति बनेका उनी २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको संलग्नता बढेको हो । दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापतिको प्रभावशाली भूमिका निर्वाह गरेका थापा एक सभासदको रूपमा सदा चर्चाको शिखरमा रहे । समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर गरेका थापाले २०५९ सालदेखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरे । कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा निर्वाचित थापालाई नेपाली कांँग्रेसको भाबी सभापतिको रूपमा समेत हेरिएको छ ।
को हुन् विश्वप्रकाश ?
नेपाली विद्यार्थी आन्दोलनबाट स्थापित भएका विश्वप्रकाश वैचारिक क्षमता भएका प्रखर वक्ताका रुपमा चिनिन्छन् । २०२७ साल पुस ६ गते झापाको शान्तिनगरमा जन्मिएका उनी २०३७ सालमा विद्यालय पढ्दादेखि नै राजनीतिमा सक्रिय थिए । प्रजातान्त्रिक आस्था, समाजवादी विचारधारा र वीपी कोइरालाको विचारबाट प्रेरित शर्मा साहित्य र संगीत क्षेत्रमा पनि उत्तिकै परिचित छन् । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहेका उनी त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रका स्नातकोत्तर हुन् । उनी प्रतिनिधि सभाको निर्वाचनमा झापा १ मा माओवादी केन्द्रका नेता राम कार्कीसँग पराजित भएका थिए । कुनै समय रेडियो नेपालको कार्यक्रम ‘घटना र विचार’ को सम्पादक भएर काम गरेका उनी पछिल्लो समय ‘ऐना’ नामक चर्चित टेलिभिजन कार्यक्रममार्फत थप ख्याती कमाउँदै गएका थिए । २०४० सालमा धुलाबारी माविमा नेविसंघ इकाइ सभापति भएपछि सक्रिय राजनीतिमा उत्रिएका उनी २०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका थिए । २०४८ सालमा नेविसंघ केन्द्रीय सदस्य बनेर केन्द्रीय राजनीतिमा स्थापित बनेका उनी २०५३ मा नेविसंघ महामन्त्री, २०५३ मा उपसभापति साथै २०५७ सालमा नेविसंघको केन्द्रीय सभापति बने । उनी सभापति भएकै बेला काँग्रेसको महाधिवेशन प्रतिनिधि भएर काँग्रेसको राजनीतिमा उदाएका हुन् ।