पाल्पा, लैनो भैंसीपालन गरी दूध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले किसानलाई ४० हजार अनुदान उपलब्ध गराएको हो । व्यावसायिक रूपमा भैंसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले बताए ।
लैनो भैंसीपालन गरिरहेका किसानलाई यो सुविधा पाउन थप एउटा लैनो भैंसीपालन गरी दुईवटा पुर्याउनुपर्ने छ । किसानलाई व्यावसायिक बनाउने र पशुपालनका माध्यमबाट ग्रामीण क्षेत्रमा बसी प्रशस्त आम्दानी गर्ने बानीको विकासका निम्ति अनुदान प्रदान गरिएको नगरप्रमुख शाहीले बताए । तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास संघ र हेफर परियोजनाको सहयोगमा भैंसीपालनका क्षेत्रमा सहयोग गरिएको हो । चालु आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाभित्रका किसानलाई १ सय लैनो भैंसी थप गर्ने योजना छ । सोहीअनुसार ६९ लैनो भँैसी थप गर्ने किसानलाई २९ लाख अनुदान वितरण गरिएको हो ।
तानसेन नगरपालिकाको चौवनबारी, पदमटारी र बन्दीपोखरा क्षेत्रमा व्यावसायिक रूपमा दूध उत्पादन गर्न भैँसीपालन कार्यक्रमलाई प्रोत्साहन गरिएको साझेदारी संस्था ग्रामीण आर्थिक विकास संघका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए । तानसेन नगरपालिका–७ र १३ वडामा लैनो भैंसीपालनलाई अनुदान वितरण गर्ने योजना रहेको छ । यो कार्यक्रममा सहभागी हुने किसानलाई स्थानीय सरकारले घाँस तथा प्राविधिक सहयोग गरिएको जनाएको छ । किसानले उत्पादित दूध बजारसम्म पुर्याउन चाहिने सामान सहयोग गर्ने योजना रहेको निर्देशक कार्कीले जानकारी दिए । –रासस