Shittalpati
तानसेन नगर सरकारले दियो कृषकलाई घाँसको बिउ

कृष्ण पोखरेल
पाल्पा, जिल्लाको तानसेन नगर सरकारले कृषकहरुलाई घाँसको बिउ दिएको छ । यहाँका कृषि सहकारी, तथा पशु सहकारी, दूग्ध सहकारी, विभिन्न कृषि समूह, व्यक्तिगत कृषि फार्महरुलाई कृषि तथा पशु शाखाले घाँस तथा च्याउको विउ वितरण गरेको हो ।

नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले एक औपचारिक कार्यक्रमका बिच घाँस तथा च्याउको विउ वितरण गरेका हुन् । विउ वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख शाहीले दूध र मासुमा आत्मनिर्भर भएको तानसेन अबका दिनमा च्याउ उत्पादनमा समेत आत्मनिर्भर हुने बताए । नगरपालिकाले कृषकको आर्य आर्जन वृद्धि गर्न, गुणस्तरीय घाँस तथा विउबाट उत्पादन बढाउन विउ, घाँस, मल तथा आवश्यक कृषि औजारमा सहयोग गर्दै आएको उनको भनाई छ । तानसेन नगरपालिकाको बजार क्षेत्र भन्दा ग्रामीण क्षेत्रको भूगोल बढी रहेकाले कृषि तथा पशु उत्पादन जग्गा प्रशस्त रहेको, आवश्यकता अनुसार कृषकहरुलाई विना धितो ऋण सहयोग कार्यक्रम नगरपालिकाले सञ्चालन गर्दै नगर प्रमुख शाहीले बताए ।

पहिलो चरणमा तानसेन नगरपालिका कृषि तथा पशु शाखामार्फत चिनारी दूग्ध सहकारी संस्था तानसेन १२ लाई जै घाँसको विउ ७५ किलो, लुहु· दूग्ध सहकारी संस्थालाई जै घाँस ७५ किलो, डुम्रे दूग्ध उत्पादक सहकारी संस्थालाई ७५ किलो जै घास, मिलनसार कृषि सहकारी संस्थालाई ७५ किलो जै घाँस, पशु सेवा केन्द्र अर्गली, पशु सेवा केन्द्र दमकडालाई एक/एक सय किलो घाँसको विउ, नवयुग कृषि सहकारीलाई ७५ किलो, विसडाँडा कृषि समुहलाई २५ किलो, मनकामना कृषि समूहलाई २० किलो, कालिका पुशपालन समूहलाई ५० किलो, कालिका कृषक समूहलाई १० किलो लगायतलाई विउ वितरण गरिएको कृषि शाखा प्रमुख सरोज तिमिल्सीनाले बताए । नगरभित्र पुशपालनमार्फत आर्थिक वृद्धि बढाउन, १२ महिना हरियो घाँसमार्फत दूध उत्पादन बढाउन, मासु तथा दूध उत्पादन बढाउन, कृषकहरुमा उत्साह बढाउन तानसेन नगरपालिकाले प्रत्येक बर्ष डाले तथा हरियो घाँसको विउ वितरण गर्दै आएको पशु शाखा प्रमुख दानबहादुर कुँवरले बताए । घाँसको विउबाट ५ सय कृषक लाभान्वित हुने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update