Shittalpati
भालुबाङमा भौतिक पूर्वाधारको काम धमाधम

बुटवल, लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन गर्न प्रदेशको स्थायी राजधानी दाङको भालुबाङमा भौतिक पूर्वाधारको काम धमाधम भइरहेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको पहलकदमीमा निर्माणको काम द्रुतगतिमा अघि बढाइएको छ ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार भौतिक पूर्वाधारको काम सपन्न हुने वित्तिकै प्रदेशसभाको बैठक बस्ने जानकारी दिए । ‘हामीले काम फटाफट सक्यौँ भने सकेसम्म त्यही बैठक बस्ने योजना छ’, उनले भने । विसं २०७८ जेठमा पाँच करोड २१ लख रूपैयाँको लागतमा प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत सुविधा सम्पन्न सभाहल, सभामुखको लबी, स्टेज लगायतका काम सम्पन्न गर्ने भनिएपनि सभाहललाई लक्षित गरेर काम तीव्र बनाइएको छ । लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभ पुनले भौतिक पूर्वाधारका काम तीव्ररुपले भइरहेकाले तोकिएको अवधिसम्म निर्माण सकिए प्रदेशसभाको बैठक बस्न सकिने जानकारी दिए । सभामुखका प्रमुख स्वकीय सचिव ध्रुवविक्रम ओलीले सभाहल निर्माणको काम करिब ३५ प्रतिशत पूरा भएको बताए । तीन महिनाभित्र सभाहल निर्माणको काम सकिने आँकलन गरिएको छ ।

प्रदेश सरकारले स्थायी राजधानीको गुरुयोजनाको निर्माण सुरु गरेको थियो । प्रशासनिक केन्द्र, शहर, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, खेलकूद लगायत क्षेत्र तोक्ने र सोहीअनुसार डिजाइन बनाइने गुरुयोजना थियो । स्थायी राजधानीको गुरुयोजनाले राप्ती गाउँपालिका, गढवा गाउँपालिका–१, २ र ३, शीतगङ्गा नगरपालिकालाई समेट्ने छ । एक वर्षअघि लुम्बिनीको स्थायी राजधानी भालुबाङ क्षेत्रलाई तोकिएको थियो ।

सोही अनुसार त्यसलाई आधुनिक शहरका रुपमा विकास गर्ने लक्ष्य लिइएको थियो । प्रदेशसभाका सूचना अधिकारी यमकान्त पाण्डेले राजनीतिक तहमा कुराकानी भएपनि कर्मचारीको तहमा छलफल नभएको जानकारी दिए । –रासस

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update