Shittalpati
सन्दर्भ : विश्व शौचालय दिवस, पाल्पामा पर्याप्त शौचालय नै छैनन्

रामचन्द्र रायमाझी
पाल्पा, रैनादेवी छहराकी विष्णुमाया थापा नागरिकता बनाउन तानसेन आइन् । उनी बस चढेर गुल्मी घुम्टी रोडमा ओर्लिन् । थापालाई पिसावले च्यापेकाले यताउती शौचालय छ कि भनेर हेरिन् तर त्यहाँ कतै देखिनन् । सार्वजनिक शौचालय त थियो तर वर्षौदेखि प्रयोग विहीन । शौचालय कतै नदेखिपछि उनी सडक छेउमा गएर पिसाव गर्न बाध्य भइन् । तिनाउ कचलका थर्कबहादुर सोमरे विदेश जानका लागि राहदानी बनाउन जिल्ला प्रशासन पुगे । उनले पनि पिसावले च्यापेकाले शौचालयको खोजीमा तानसेन बजार डुले तर कोही कतै शौच गर्ने चर्फी नै देखेनन् । ‘होटल वा घरमा जाउँ कोही कसैलाई चिनेको छैन, नजाऊ पिसावले च्यापेको छ, धेरै समय लगाएर बल्ल तल्ल बसपार्क माथि रहेको त्रिभुवन बहुमुखी क्याम्पसको शौचालयमा छिरेर शौच गरे’ सोमरेले भने । बजार क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय नहुँदा आफु जस्ता बाहिरबाट आउनेहरुले सास्ती खेप्नु परेको उनको गुनासो छ ।

थापा र सोमरे त केवल प्रतिनिधि पात्र मात्र हुन् । यो आमनागरिकको समस्या हो । जिल्लाका सडकमा सार्वजनिक सवारी साधन चलाउने अधिकांश चालकको व्यथा पनि यही हो । पर्याप्त सार्वजनिक शौचालय छैनन् र भएका पनि दुर्गन्धित र अव्यवस्थित । जिल्लाका शहरी क्षेत्रको समस्या मात्र होइन, यहाँका स्थानीय तहका केन्द्रहरुको समस्या पनि यस्तै छ । २०७४ चैत्र २४ गते पाल्पालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको भए पनि यहाँ अझै सम्म पर्याप्त सार्वजनिक शौचालय निर्माण हुन सकेका छैनन् । जसले गर्दा सर्वसाधारणले सास्ती भोग्न बाध्य भएका छन् । बेला–बेलामा सरकारले सार्वजनिक शौचालयको योजनाहरू ल्याउने गरेको भएपनि ती कार्यान्वयन भएका छैनन् । भएका शौचालयहरूको पनि स्तरोन्नति हुन सकेको छैन । यहाँ सार्वजनिक शौचालय नभएको भने पक्कै पनि होइन, तर जति हुन पर्ने हो त्यो भन्दा निकै न्यून छन् । संघीय संरचना निर्माण भएपछि खानेपानी तथा सरसफाई डिभिजनको सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यक्रम स्थानीय सरकार समक्ष गएको छ । तर स्थानीय तहमा जग्गा अभावले सार्वजनिक शौचालय बन्न नसकेको सम्बन्धित स्थानीय सरकार बताउँछन् । १० स्थानीय तह रहेको पाल्पामा अहिले ५२ वटा मात्र सार्वजनिक शौचालय रहेका छन् । जस मध्ये ३८ वटामात्र प्रयोगमा छन् । २ लाख ६१ हजार १ सय ८० कुल जनसंख्या रहेको पाल्पा खुला दिशामुक्त भएपनि पर्याप्त मात्रमा सार्वजनिक शौचालयको अभाव छ । मानिसहरुको बाक्लो उपस्थिति रहने क्षेत्रमै सार्वजनिक शौचालय निर्माण हुन सकेका छैनन् ।

अहिले स्थानीय तहका केन्द्रहरुमा सेवाग्राहीहरुको चाप बढे पनि सार्वजनिक शौचालय भने निर्माण हुन सकिरहेका छैनन् । तानसेन नगरपालिकामा १२, बगनासकाली गाउँपालिकामा ३, माथागढी गाउँपालिकामा २, तिनाउ गाउँपालिकामा ४, रम्भा गाउँपालिकामा १८, पूर्वखोला गाउँपालिकामा ६, निस्दी गाउँपालिकामा २, रिब्दीकोट गाउँपालिकामा २, रामपुर नगरपालिकामा ३ वटामात्र सार्वजनिक शौचालय बनेका छन् । तर ति शौचालयहरु पनि पर्याप्त भने छैनन् । गाउँपालिकाका धेरै ठाउँहरुमा सार्वजनिक शौचालयको आवश्यक भए पनि जग्गा अभावका कारण बनाउन नसकिएको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले बताए । माथागढी गाउँपालिकामा पनि पर्याप्त मात्रमा सार्वजनिक शौचालय छैनन् । यहाँ २ वटा सार्वजनिक शौचालय भए पनि गाउँपालिकाकै केन्द्रमा भने नभएको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनले भने ‘शौचालय बनाउने योजना गाउँपालिकाको भए पनि जग्गा नहुँदा समस्या भएको छ,हामी छिट्टै जग्गाको व्यवस्था गरी शौचालय बनाउँने छौं ।’ रैनादेवी छहरा गाउँपालिकामा एउटा पनि सार्वजनिक शौचालय छैनन् । सेवाग्राहीहरुको चाप बढ्दै गएकाले गाउँपालिकाको केन्द्रमा सार्वजनिक शौचालय बनाउने तयारी थालिएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । ‘सार्वजनिक शौचालय निर्माण गर्न आवश्यक छ’, उनले भने, ‘सबै सेवाग्राही र यात्रुको समस्यालाई मध्यनजर गर्दै उपयुक्त जग्गा छनोट गरी सार्वजनिक शौचालय निर्माणको काम थालनी गर्ने तयारीमा छौँ ।’ सार्वजनिक शौचालय बनाउन मुख्य सडक तथा चोकमा जग्गा नपाउने हुनाले निर्माण गर्न नसकिएको अध्यक्ष कार्कीको भनाई छ ।

सबै भन्दा बढी जनसंख्या रहेको तानसेन नगरपालिका भित्र जम्मा १२ वटा मात्र सार्वजनिक शौचालय छन् । ति मध्ये केही अव्यवस्थित छन् । यहाँको जनसंख्या र बाहिरबाट आउनेहरुको संख्यालाई हेर्ने हो भने यि शौचालय पर्याप्त देखिदैन । पहिले कैलाशनगर, बसन्तपुर, मेहल्धारा, मिसन अस्पताल, नारायणस्थान, टक्सारटोल लगायतका स्थानमा सार्वजनिक शौचालय भए पनि अहिले भने देख्न पाइदैन । कतिपय भत्केर गए भने कतिपय सार्वजनिक शौचालय अतिक्रमणको चपेटामा परे । नारायणस्थानमा रहेको डोजर लगाएर जिप पार्क बनेको छ । टुँडिखेल,विद्युत कार्यालय अगाडि र बसपार्कमा रहेका सार्वजनिक शौचालय भने केही व्यवस्थित छन् । टक्सारटोलमा रहेको सार्वजनिक शौचालय प्रयोगमै छैन । नेपाली काँगेसका नेता राजेन्द्र गोपाल सिंह स्थानीय सरकार र स्थानीय समुदायको चासो नहुँदासम्म कुनै संरचनाको पनि संरक्षण नहुने बताउँछन् । ‘हामी देखिरहेका छौँ अहिले अधिकांश जिल्ला खुल्ला दिशामुक्त भनेर भनिएको छ । एकातिर खुला दिशामुक्त भन्ने अर्कातिर दिशापिसाब गर्ने ठाउँ पनि नबनाउने, यो अलिकति मिलेको छैन । यसमा चाहीँ स्थानीय सरकारहरुले ध्यान दिनुपर्नेछ ।’ रम्भा गाउँपालिकाले भने सरसफाई तथा स्वच्छता सम्बन्धी नमूना कार्य नै गरेको छ । उसले पूर्ण सरसफाई उन्मुख गाउँपालिका बनाउने अभियान नै चलाएर नमूना काम गरेको छ । अहिले ४ वटा वडालाई पूर्ण सरसफाई वडा घोषणा गरिसकेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । उनका अनुसार गाउँपालिका भित्र १८ वटा सार्वजनिक शौचालय रहेका छन् । रामपुर नगरपालिकामा ३ वटा सार्वजनिक शौचालय भएपनि १ वटा मात्र प्रयोगमा छ । तिनाउ गाउँपालिकामा पनि ४ वटा शौचालय भएपनि १ वटामात्र प्रयोगमा छ । अन्य तीनवटा शौचालय भने अव्यस्थित रुपमा छन् ।

पाल्पामा निजी शौचालयको अवस्था भने सन्तोषजनक रहेको छ । यहाँका ९५ प्रतिशतले शौचालयको प्रयोग गर्ने गरेको र बाँकी ५ प्रतिशतले भने बाहिरै शौच गर्ने गरेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका प्राविधिक नारायण अर्यालले बताए । उनका अनुसार निजी शौचालयको अवस्था सन्तोषजनक रहेपनि सार्वजनिक शौचालयको अवस्था भने नाजुकै रहेको छ । खानेपानी तथा स्वच्छता सम्बन्धी कार्यक्रम स्थानीय तहमा गएकाले शौचालय निर्माणमा खासै प्रगति हुन भने नसकेको डिभिजन कार्यालयका इञ्जिनियर सञ्जिव अधिकारीले बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update